काठमाडौं । २०८२ सालमा नेपालमा हलमा गएर फिल्म हेर्ने दर्शक संख्या ७१ लाखभन्दा बढी पुगेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष फिल्मप्रतिको दर्शक आकर्षण उल्लेख्य देखिएको छ ।
कुल दर्शकमध्ये नेपाली फिल्म हेर्ने संख्या ३७ लाख ८१ हजार ५४४ रहेको छ भने विदेशी फिल्म हेर्ने दर्शक ३३ लाख २२ हजार ७५७ पुगेका छन् । दर्शक संख्यामा नेपाली फिल्म केही अगाडि रहे पनि कमाइका हिसाबले भने विदेशी फिल्मले बाजी मारेका छन् ।
तथ्यांकअनुसार विदेशी फिल्मले नेपाली फिल्मभन्दा ३ करोड १४ लाखभन्दा बढी कमाइ गरेका छन् । यसले नेपाली फिल्म उद्योगमा दर्शक उपस्थितिका बाबजुद व्यापारिक चुनौती कायम रहेको संकेत गर्छ । २०८२ सालमा नेपाली बक्स अफिसको कुल आकार २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको २ अर्ब ७० करोडको तुलनामा करिब १८.९ प्रतिशत (५१ करोड रुपैयाँ) ले घटेको हो ।
यस वर्ष नेपाली फिल्मको कुल कमाइ १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ रहेको छ भने विदेशी फिल्मले १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ कमाएका छन् । व्यापारिक हिसाबले विदेशी फिल्मले बजारमा ठूलो हिस्सा ओगटेका छन् । ‘कान्तारा २’, ‘धुरन्धर’, ‘धुरन्धर २’, ‘हाउसफुल ५’, ‘अवतार ३’ र ‘सैयारा’ जस्ता फिल्महरूले मात्रै नेपालमा ५० करोडभन्दा बढी कमाइ गरेका छन् ।
नेपाली फिल्मतर्फ ‘परान’, ‘आ बाट आमा’ र ‘जेरी अन टप’ जस्ता फिल्महरूले पनि राम्रो व्यापार गरेका छन् ।
समग्रमा, दर्शक उपस्थितिमा सकारात्मक संकेत देखिए पनि बक्स अफिस आम्दानीमा गिरावटका कारण २०८२ साल नेपाली फिल्म उद्योगका लागि मिश्रित परिणामसहितको वर्ष बनेको छ ।