काठमाडौं । महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । महिला उद्यमीहरूको पक्षमा राष्ट्रिय लबिङ गर्नका लागि आफूले उम्मेदवारी दिएको ज्ञवालीले बताएकी छन् ।
महासंघको केन्द्रीय सदस्यका लागि ज्ञवालीले एसोसिएटबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन् । ज्ञवालीले झण्डै दुईतिहाइनजिकको बलियो सरकार बनेको बेलामा व्यवसायमैत्री वातावरण बनाउन महासंघमार्फत सरकारसँग सहकार्य गर्ने वातावरण निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।
ज्ञवालीले महिला उद्यमीको पक्षमा उभिनका लागि पनि उम्मेदवारी दिएको दाबी गरेकी छिन् । साना तथा घरेलु उद्योगमा महिलाहरूको लगानी बढिरहेको बताउदै उनले ती उद्योगले स्वरोजगार पनि बनाइरहेको बेलामा महिला उद्यमीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।
त्यसका लागि सरकारको भूमिका पनि महत्त्वपूर्ण हुने र त्यसमा महासंघले पुलको काम गर्ने भएकाले आफू ती मुद्दाको नेतृत्व गर्न महासंघमा जान लागेको तर्क गरिन् । महिला उद्यमी महासंघमा एक कार्यकाल अध्यक्ष रहेकी ज्ञवालीले महिलाका उत्पादनलाई विदेश निर्यातको वातावरणका लागि निकै प्रयास गरेकी थिइन् ।
त्यसैले उनले ‘लोकल टु ग्लोबल’को एजेन्डा लिएकी छन् । स्थानीय उत्पादनलाई निर्यात गर्ने वातावरण निर्माण गर्नका लागि आफूले प्रयास गर्ने पनि दाबी गरेकी छन् ।
त्यसैगरी, पयर्टन क्षेत्रमा हुने लगानी तथा लगानीमैत्री वातारण निर्माण, नेपालमा जडीबुटी क्षेत्रको लगानीको वातावरण निर्माणका लागि पनि आफूले पहल गर्ने ज्ञवालीले बताएकी छन् ।
महिला उद्यमी महासंघको अध्यक्ष भइसकेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । अघिल्लोपटक उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।