काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) र नेपहपको श्रीपेच बीच सहकार्य भएको छ। यस सहकार्यसँगै आगामी सिजनमा खेलसँगै हिपहप संगीतको संयोजन देख्न पाइनेछ।
एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट र शोका संस्थापक सुदीप पोखरेल बीच राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। यो सहकार्य एनकेएल सिजन २ र ‘नेपहपको श्रीपेच’ सिजन ३ का लागि गरिएको हो। एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल ले खेल र मनोरञ्जनलाई जोड्ने यस सहकार्यले नयाँ आयाम थप्ने बताए। उनका अनुसार कबड्डी र हिपहपको संयोजनले युवामाझ नयाँ ऊर्जा सिर्जना गर्दै खेललाई सांस्कृतिक अभिव्यक्तिसँग जोड्नेछ।
त्यस्तै, शोका संस्थापक पोखरेलले खेल लिग र रियालिटी शोबीच पहिलोपटक यस्तो सहकार्य हुनुले कलाकार र खेलाडी दुवैका लागि नयाँ अवसर सिर्जना गर्ने उल्लेख गरे। उनका अनुसार शोका प्रतिस्पर्धी र्यापरहरूले एनकेएलका टोलीका लागि विशेष एन्थम तयार गर्नेछन्।
कार्यक्रममा शोका निर्णायकहरू भियोमा र मानस घले पनि उपस्थित थिए। उनीहरूले र्याप र खेलबीचको सहकार्यले दुवै क्षेत्रलाई फाइदा पुग्ने बताए। एनकेएल सिजन २ को आधिकारिक एन्थम पनि भियोमाले तयार गरेका हुन्।
आगामी जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहल मा सुरु हुने एनकेएल सिजन २ मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर बाहुबली, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्स सहभागी हुनेछन्।
आयोजकका अनुसार सिजन २ मा १६ देशका १ सयभन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गराएका छन् भने प्लेयर्स ड्राफ्टमार्फत टोलीहरूले खेलाडी छनोट गर्नेछन्।