काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारका कामहरू तीव्र गतिमा अघि बढाइरहेको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले द्रुत रफ्तारमा काम गरिरहेको दाबी गरेका हुन्।
उनले प्रधानमन्त्रीले निर्धारण गरेको गतिअनुसार सबै मन्त्रालयहरूले काम गरिरहेको उल्लेख गर्दै मन्त्रालयबीच नै कामको गति बढाउने प्रतिस्पर्धा देखिएको बताए। “एउटा मन्त्रालयको कामलाई अर्को मन्त्रालयले उछिन्ने खालको सकारात्मक होडबाजी चलिरहेको छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले आफू पदभार सम्हालेको दिनदेखि नै उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रयासरत रहेको बताए। उद्योगीहरूले लामो समयदेखि भोग्दै आएका समस्यालाई सम्बोधन गर्ने दिशामा काम भइरहेको उनले जानकारी दिए।
उनले पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा तयार गरिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्ने प्रयास भइरहेको समेत बताए। वाग्लेले पदभार ग्रहण गरेलगत्तै राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा १५ वटा पुराना र असान्दर्भिक ऐनहरू खारेज गर्ने निर्णय गरिएको उल्लेख गरे। “यो सुरुआत मात्रै हो, थप सुधारका कामहरू क्रमशः अघि बढ्दै छन्,” उनले भने।
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रक्रिया समेत अघि बढाइसकिएको छ र यसमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिइनेछ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति अभावका कारण व्यवसायीहरू समस्यामा परेको गुनासो गरे। उनले उद्योग सञ्चालनका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन सरकारसँग आग्रह गरे।