काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाले राजनीतिक खिचातानीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउनुपरेको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेकी छन्।
अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीचको विवादका कारण नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा सिरिजबाट नाम फिर्ता लिएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
अन्जिलाले एक दशकभन्दा बढी समय लगाएर नेपाली महिला टोलीले बनाएको साख र उपलब्धि केही क्षणमै नष्ट भएको बताएकी छन्। “१० वर्षको मेहनतलाई तपाईंहरूको स्वार्थ र राजनीतिले १० मिनेटमै खरानी बनाइदियो,” उनले उल्लेख गरेकी छन्। उनले अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर खेलाडीका लागि पर्व जस्तै हुने बताउँदै अन्तिम समयमा यस्तो अवसर गुमाउनु अत्यन्त पीडादायी हुने उल्लेख गरेकी छन्। “राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, त्यो पीडा खेलाडीले मात्र बुझ्न सक्छ,” उनले भनिन्।
अन्जिलाले खेलाडीको भविष्यप्रति सम्बन्धित निकाय गैरजिम्मेवार बनेको आरोप लगाउँदै आगामी पुस्तालाई के सन्देश जाने भन्ने प्रश्न समेत उठाएकी छन्। “जब खेलाडीको भविष्यमाथि नै खेलबाड हुन्छ, तब नयाँ पुस्ताले के सपना बोकेर मैदानमा आउनेरु” उनको प्रश्न छ।
उनले खेललाई राजनीतिक प्रभावबाट मुक्त राख्न आग्रह गर्दै खेलाडीको मिहिनेतलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएकी छन्। “हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहङ्कारका लागि होइन,” उनले स्पष्ट पारेकी छन्।
अन्जिलाले अन्त्यमा व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले नेपाली महिला फुटबलको भविष्य अन्धकारतर्फ धकेलिएको बताउँदै खेलाडीलाई मैदान चाहिएको, राजनीति नभएको उल्लेख गरेकी छन्।