काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘ढुङ्गामाथि लेऊ’ सार्वजनिक भएसँगै कलाकार विजय बरालको प्रस्तुति चर्चामा आएको छ। बुधबार युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा उनलाई बलिउड अभिनेता शाहरुख खानको लोकप्रिय शैलीमा देखाइएको छ।
सन् २००० मा प्रदर्शन भएको फिल्म ‘मोहब्बतें’मा शाहरुख खानले काँधमा स्वीटर राखेर भायोलिन बजाएको दृश्य निकै चर्चित बनेको थियो। ‘मालती मंगले’को गीतमा विजय बराललाई पनि सोही शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको करिब १ मिनेट ३३ सेकेण्डमा उनी भायोलिनसहित शाहरुखकै झल्को दिने अवतारमा देखिन्छन्।
कोरियोग्राफर रोशन विकले उनलाई शाहरुखको ‘ट्रेडमार्क पोज’ अर्थात् दुई हात फिजाउने शैलीसमेत गराएका छन्, जसले गीतमा बलिउड प्रभाव स्पष्ट देखिएको छ।
गीत सार्वजनिक भएपछि फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले यसबारे स्पष्टीकरण दिएका छन्। उनका अनुसार फिल्मको कथामा अभिनेत्री वर्षा राउतको पात्रले विजयमा शाहरुख खानको छवि देख्ने भएकाले गीतमा सोही भाव झल्काउने प्रयास गरिएको हो। उनले फिल्मको मूल कथामा भने विजय शाहरुखको शैलीमा नदेखिने स्पष्ट पारे।
रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ भने संगीत एसडी योगीले दिएका छन्। संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्। अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्ममा विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही र रिजन परियारलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।
आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माताको रूपमा रहेका छन्। फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ।