काठमाडौँ । चलचित्र समीक्षक समाज, नेपालले वर्ष २०८१ का लागि प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’को नतिजा सार्वजनिक गरेको छ, जसमा बहुचर्चित चलचित्र ‘शाम्बाला’ले उल्लेखनीय सफलता हासिल गर्दै वर्चस्व जमाएको छ।
समाजले चैत १८ गते प्रेस विज्ञप्तिमार्फत १० विभिन्न विधामा विजेता चलचित्र तथा चलचित्रकर्मीहरूको नाम घोषणा गरेको हो। यस वर्ष ‘शाम्बाला’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री जस्ता प्रमुख विधाहरूमा पुरस्कार जित्दै आफूलाई सबैभन्दा प्रभावशाली चलचित्रका रूपमा स्थापित गरेको छ।
यस चलचित्रका निर्देशक मीनबहादुर भाम उत्कृष्ट निर्देशक घोषित भए भने अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। त्यसैगरी, ‘गाउँ आएको बाटो’ चलचित्रबाट दयाहाङ राई उत्कृष्ट अभिनेताका रूपमा सम्मानित भएका छन्।
अन्य विधातर्फ, ‘सानो संसार’ का लागि सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले उत्कृष्ट पटकथा तथा लेखनको अवार्ड जितेका छन् भने ‘आँखा’का आलोक शुक्लाले उत्कृष्ट छायाङ्कनको पुरस्कार प्राप्त गरेका छन्। ‘राजागञ्ज’का जे। हिम ली र एलेक्स गुर्भिट्स उत्कृष्ट सम्पादक घोषित भएका छन् भने ‘गाउँ आएको बाटो’कै किशोर आचार्यले उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड हात पारेका छन्।
यसैगरी, ‘बोक्सीको घर’की सुपला सापकोटालाई अभिनयतर्फ स्पेशल मेन्सन प्रदान गरिएको छ भने ‘पूर्णबहादुरको सारङ्गी’लाई कला निर्देशनतर्फ विशेष सम्मान दिइएको छ।
चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने योजना भए पनि देशको पछिल्लो राजनीतिक परिस्थिती, जेनजी आन्दोलन तथा निर्वाचनका कारण कार्यक्रम स्थगित गरी नतिजा मात्र सार्वजनिक गरिएको हो। उनले आगामी वर्ष २०८१ र २०८२ दुवै वर्षका अवार्डहरू एकैसाथ भव्य समारोहका बीच वितरण गरिने जानकारी दिएका छन्।
यस वर्षको ‘क्रिटिक्स अवार्ड’ले नेपाली चलचित्र क्षेत्रमा ‘शाम्बाला’को प्रभावशाली उपस्थिति र गुणस्तरीय निर्माणलाई पुनः प्रमाणित गरेको छ।