काठमाडौं । धुरन्धर: द रिभेन्ज (धुरन्धर २) ले बलिउड बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको छ।
रणवीर सिंह अभिनीत यो फिल्मले रिलिजको पहिलो दिनदेखि नै आक्रामक कमाइ गर्दै आएको थियो। पहिलो सातामै ठूलो ओपनिङसहित रेकर्ड बनाएको फिल्मले दोस्रो सातामा आइपुग्दा बलिउडका सबै प्रमुख कमाइका कीर्तिमानहरू तोड्न सफल भएको हो।
फिल्मले दोस्रो सोमबारसम्म भारतमा मात्रै ८७२ करोड रुपैयाँ नेट (झण्डै १ हजार करोड ग्रस) कमाइ गरेको छ। यससँगै यसले अघिल्लो रेकर्डधारी पहिलो भाग धुरन्धर (८४० करोड) लाई पछि पार्दै शीर्ष स्थान ओगटेको छ। हाल तेस्रो स्थानमा जवान रहेको छ, जसको कमाइ ६४० करोड छ।
विश्वव्यापी रूपमा पनि ‘धुरन्धर २’ उत्कृष्ट प्रदर्शन गरिरहेको छ। १२ दिनमै फिल्मले १३९२ करोड रुपैयाँ कमाइसकेको छ, जसमा ओभरसिज बजारबाट मात्रै ३५० करोडको योगदान रहेको छ। अब यसले आफ्नै अघिल्लो भागको १४२८ करोड र दंगल को २०७० करोडको रेकर्ड तोड्ने लक्ष्य राखेको छ।
दक्षिण भारतीय बजारमा समेत फिल्मको प्रदर्शन उल्लेखनीय देखिएको छ। हालसम्म साउथ भारतमा २२६ करोडभन्दा बढी कमाइसकेको यो फिल्मले अवतारस् द वे अफ वाटर को २९७ करोडको रेकर्ड पछ्याइरहेको छ। बदला र ग्याङवारको कथामा आधारित यस फिल्ममा रणवीर सिंहसँगै अर्जुन रामपाल, सञ्जय दत्त र आर माधवन को मुख्य भूमिका रहेको छ। फिल्मलाई आदित्य धर ले लेखन, निर्देशन तथा निर्माण गरेका हुन्।
३ घण्टा ४९ मिनेट लामो यो फिल्म २१औँ शताब्दीको दोस्रो सबैभन्दा लामो बलिउड फिल्मसमेत बनेको छ। यसको निरन्तर सफलताले आगामी दिनमा अझ नयाँ कीर्तिमान कायम गर्ने अनुमान गरिएको छ।