काठमाडौं । आगामी दशैंमा नेपाली फिल्महरूको प्रदर्शन चाप झन् बढ्ने भएको छ। यसअघि नै केही ठूला फिल्महरूले प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ पनि रिलिज दौडमा थपिएको छ।
निर्माण पक्षले सोमबार अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गर्दै फूलपातीको अघिल्लो दिन अर्थात् ३० असोजलाई प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाउ २’, ‘आ बाट आमा २’ र ‘महाराजधिराज’ले दशैंलाई लक्षित गर्दै प्रदर्शन तयारी गरिरहेका बेला ‘बाटुलो जून’को प्रवेशले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
सार्वजनिक पोस्टरमा अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। पूर्णिमाको जून पृष्ठभूमिमा राखिएको दृश्यमा अनमोलले एक हातमा राँको बोकेको र अर्को हातले पर्खालमा उभिएकी प्रिन्सीको खुट्टा समातेको देखिन्छ। पोस्टरले फिल्म ग्रामीण परिवेशमा आधारित प्रेमकथामा केन्द्रित रहेको संकेत गर्छ।
फिल्मको निर्देशन अभिनेता भुवन केसीले गरेका हुन् भने निर्माण जीया केसी र भविष्य खड्काले गरेका छन्। निर्माता जीया केसीका अनुसार फिल्मले दर्शकलाई करिब ३० वर्षअघिको नेपाली समाजको अनुभव दिलाउनेछ र प्रेमको अनुभूति विभिन्न वर्गका दर्शकसम्म पुर्याउने प्रयास गरिएको छ।
सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
दशैं नजिकिँदै जाँदा फिल्महरूको प्रतिस्पर्धा कडा बन्दै गएको छ भने ‘बाटुलो जून’को घोषणाले रिलिज समीकरणमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।