काठमाडौं । चर्चित हिप-हप गायकदेखि राजनीतिमा उदाएका बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्री बनेसँगै नेपाली कला क्षेत्रबाट बधाई र शुभकामनाको ओइरो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री बनेका शाहप्रति कलाकारहरूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका छन्।
अभिनेत्री रेखा थापा ले बालेनलाई बधाई दिँदै उनलाई लाखौँ नेपाली जनताको “विश्वास, भरोसा र आशाको केन्द्र” का रूपमा व्याख्या गरेकी छन्। उनले शाहको कार्यकाल ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै देशमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखेकी छन्।
त्यस्तै, अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा ले प्रधानमन्त्री शाह र नवनियुक्त मन्त्रीपरिषद्लाई शुभकामना दिँदै राष्ट्रको हितमा काम गर्न र देशको मुहार फेर्न आग्रह गरेकी छन्।
फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत ले पनि बालेनलाई बधाई दिँदै “नेपाल हाँसेको र नेपाली खुसीले बाँचेको” देख्न चाहेको प्रतिक्रिया दिएका छन्। उनी बालेनका निकट सहयोगीका रूपमा चिनिन्छन् र चुनावी अभियानमा समेत सक्रिय देखिएका थिए।
यसैगरी, वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेता रमेश उप्रेती, प्रस्तोता सन्दीप क्षेत्री, मोडल नीति शाह, अभिनेत्री सुहाना थापा, जसिता गुरुङ, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, निकिता चाण्डक लगायतले पनि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
कलाकारहरूले नयाँ नेतृत्वबाट सुशासन, पारदर्शिता र दीगो विकासको अपेक्षा राखेका छन्। उनीहरूले बालेनको नेतृत्वमा देशले सकारात्मक दिशा लिने विश्वास व्यक्त गरेका छन्।