काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले १५ सदस्यीय मन्त्रिपरिषद् टुंगो लगाएको छ। विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँडसहित मन्त्रिपरिषद्को पूर्ण सूची सार्वजनिक गरिएको हो।
नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सरकारको नेतृत्वमा रहनेछन्। सरकारमा प्रमुख मन्त्रालयहरूमा युवा तथा अनुभवी नेताहरूलाई समेटेर सन्तुलित टीम बनाउने प्रयास गरिएको देखिएको छ।
सार्वजनिक सूचीअनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सोविता गौतम कानूनमन्त्रीको जिम्मेवारीमा रहेकी छन्। त्यसैगरी शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन्। गृहमन्त्रीमा सुदन गुरुङ नियुक्त भएका छन् भने अमरेश कुमार सिंह उद्योगमन्त्री बनेका छन्। प्रतिभा रावलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्नेछिन्।
अन्य मन्त्रीहरूमा गीता चौधरी कृषि मन्त्री, विक्रम तिमल्सिना सञ्चार मन्त्री, दीपक साह श्रम मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, खडक पौडेल पर्यटन मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन्। त्यसैगरी सीता वादी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त भएकी छन् भने निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारले नीति सुधार, सुशासन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ। सरकारका आगामी कदमहरू यी क्षेत्रहरूमा केन्द्रित रहने अपेक्षा गरिएको छ।