काठमाडौं । नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित चलचित्र कलाकार संघ को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। आगामी चैत २८ गते संघको २१औँ साधारण सभा तथा चुनावी महाधिवेशन हुने तय भएको छ।
निर्वाचन नजिकिँदै जाँदा कलाकारहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। अध्यक्ष पदमा यसपटक पुरानो र नयाँ पुस्ताबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। वरिष्ठ कलाकार उत्तम केसी ले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का को समर्थन रहेको छ।
उत्तम केसीका प्रतिस्पर्धीका रूपमा नयाँ पुस्ताका कलाकार सविन श्रेष्ठ मैदानमा उत्रिएका छन्। हाल संघका महासचिव रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै कलाकारहरूको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, अन्य पदहरूमा पनि कलाकारहरूको सक्रियता देखिएको छ। उपाध्यक्षमा शित्तल केसी, शिवहरि वैरागी, पनाह अधिकारी र उद्धव प्रसाद भट्टराई, महासचिवमा सुनिल कटुवाल र रामेश्वर बुर्लाकोटी, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा पवित्रा आचार्य तथा सह(कोषाध्यक्षमा तेजुला खतिवडा र गीता नेपाल उम्मेदवार बन्ने तयारीमा छन्।
वि.सं. २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल रहने व्यवस्था छ। यसपटकको निर्वाचनले संघको नेतृत्वमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।