काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामै नेपालबाट वैदेशिक शिक्षाका नाममा ६४ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय बढ्दै जाँदा शिक्षातर्फ ठूलो रकम विदेशिएको हो।
उक्त अवधिमा कुल भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जसमा शिक्षातर्फ मात्रै ६४ अर्बभन्दा बढी खर्च भएको देखिन्छ। यद्यपि अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको खर्च ६६ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। यसैबीच, समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको ३६ अर्ब ३८ करोड घाटाभन्दा उल्लेख्य वृद्धि हो।
नेपालमा विश्वविद्यालय, क्याम्पस तथा प्राविधिक शिक्षालयहरूको संख्या पर्याप्त भए पनि उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम तीव्र रूपमा बढिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा विद्यार्थी भिसा लिएर बाहिरिने युवाहरूको भीडले यो प्रवृत्ति स्पष्ट देखिन्छ।
विशेषज्ञहरूका अनुसार देशभित्र उत्पादित जनशक्तिका लागि पर्याप्त अवसर र आकर्षक वातावरण नहुँदा विद्यार्थीहरू विदेशिन बाध्य भएका छन्। धेरै विद्यार्थीहरू अध्ययनसँगै रोजगारी खोज्ने र विदेशमै बसोबास गर्ने उद्देश्यले बाहिरिने गरेका छन्। यसले एकातिर देशको ठूलो रकम बाहिरिरहेको छ भने अर्कोतर्फ दक्ष जनशक्ति पलायन भइरहेको छ।
पछिल्ला वर्षहरूमा दैनिक हजारौँ विद्यार्थी विदेश गइरहेका भए पनि अध्ययन सकेर स्वदेश फर्किनेहरूको यकिन तथ्यांक उपलब्ध छैन। शिक्षा प्रणालीका कमजोरी, ढिलो परीक्षा प्रणाली र बढ्दो शैक्षिक लागत पनि विद्यार्थी पलायनका प्रमुख कारणका रूपमा औंल्याइन्छ।
उता, नेपालले विदेशी विद्यार्थी भित्र्याउन नसक्दा शैक्षिक क्षेत्रमा ठूलो असन्तुलन देखिएको छ। स्वदेशबाट ठूलो संख्यामा विद्यार्थी बाहिरिने तर विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थी न्यून भएकाले देशले वार्षिक अर्बौँ रुपैयाँको शैक्षिक घाटा व्यहोर्नुपरेको छ।