काठमाडौँ । भक्तपुरमा आयोजित दुई दिने फिल्म महोत्सव डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शनसँगै सम्पन्न भएको छ। सन्देश भुर्तेल निर्देशित उक्त डकुमेन्ट्रीमार्फत महोत्सवको समापन गरिएको आयोजकले जनाएको छ।
चैत ६ गतेदेखि सुरु भएको महोत्सवमा कुल २४ फिल्म प्रदर्शन गरिएको थियो। महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनबाट गरिएको थियो। भक्तपुरस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशी, फिल्म निर्देशक सुजित बिडारी, प्रवीण कार्की तथा सचिन घिमिरेलगायतका फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो।
महोत्सवमा विभिन्न विधाका फिल्महरू प्रदर्शन गरिएको थियो, जसमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’ तथा राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म समावेश थिए।
महोत्सवको आयोजना भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले गरेको हो, जसमा किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी तथा प्रवीण टक्कीलगायत रहेका थिए। महोत्सवका निर्देशक किरण किलम्बु रहेका थिए।
यस महोत्सवले नेपाली फिल्म क्षेत्रका नयाँ तथा वैकल्पिक कथावस्तु प्रस्तुत गर्ने फिल्महरूलाई प्रोत्साहन गर्नुका साथै युवा फिल्मकर्मीहरूलाई प्लेटफर्म उपलब्ध गराएको आयोजकको विश्वास छ।