काठमाडौं । अपराध र बदलाको कथामा आधारित नेपाली फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। मंगलबार बिहान काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्माण टिमले जनाएको छ।
साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई सुनिल पाण्डेले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। फिल्मको कथा पनि उनले नै तयार पारेका हुन्। निर्देशक पाण्डेका अनुसार ‘मुक्तिपुर’ले एक आम परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा आउने अप्रत्याशित मोड र त्यसपछि सुरु हुने बदलाको कथा प्रस्तुत गर्नेछ।
फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र आकृति बुढाथोकी मुख्य भूमिकामा देखिनेछन्। आकृति बुढाथोकीले यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन्। यसका साथै घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा र अनामिका लामिछाने लगायतका कलाकारहरूको पनि फिल्ममा अभिनय रहनेछ।
शरद महतोको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्मका निर्माता विजय राजवंशी र रोशन पासवान हुन्। ‘एभरेष्ट फिल्म एकेडेमी’ले पनि निर्माणमा सहकार्य गरेको छ। फिल्मका कार्यकारी निर्माता विशाल श्रेष्ठ तथा सह-निर्माता केशव गौतम रहेका छन्।
निर्माण टिमका अनुसार काठमाडौं आसपासका क्षेत्रमा करिब ४० दिन छायांकन गरिनेछ र छायांकन सम्पन्न भएको ६ महिनाभित्र फिल्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।