काठमाडौं । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनातो मिनेरोको फाइनल खेलमा ठूलो झडप भएपछि दुवै टोलीका गरी २३ खेलाडीलाई रातो कार्ड देखाएर निष्कासन गरिएको छ।
सोमबार मिनेराओ स्टेडियममा भएको फाइनल खेलमा क्रुजेरो इस्पोर्टे क्लब र एट्लेटिको मिनेरो क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेलमा क्रुजेरोले १-० गोलको जित निकाल्दै उपाधि हात पारेको थियो। तर खेलको अन्त्यतिर दुवै टोलीका खेलाडीबीच विवाद चर्किएपछि मैदानमै तनावपूर्ण अवस्था सिर्जना भएको थियो। विवाद बढ्दै जाँदा खेलाडीहरूबीच धक्का-मुक्की हुँदै हात हालाहालसम्मको स्थिति बनेको थियो।
क्रुजेरोका मिडफिल्डर क्रिस्टियन र एट्लेटिको मिनेरोका गोलकिपर एभर्सनबीच भएको टक्करबाट झडप सुरु भएको बताइएको छ। एभर्सनले क्रिस्टियनलाई धक्का दिँदै प्रहार गरेपछि दुवै टोलीका खेलाडीहरू झगडामा उत्रिएका थिए। खेलका रेफ्री माथेउस क्यानडान्सानले झडप निकै ठूलो भएकाले मैदानमै सबैलाई कार्ड देखाउन सम्भव नभएको बताए। खेलपछि तयार पारिएको आधिकारिक प्रतिवेदनमा भने कुल २३ खेलाडीलाई रातो कार्ड दिइएको उल्लेख गरिएको छ।
निष्कासित खेलाडीमध्ये क्रुजेरोका १२ जना र एट्लेटिको मिनेरोका ११ जना रहेका छन्। क्रुजेरोबाट कासियो, फाग्नेर, फाब्रिसियो ब्रुनो, जोआओ मार्सेलो, विलाल्बा, काउआ प्रातेस, क्रिस्टियन, लुकास रोमेरो, मातेउस एनरिके, वालेस, गेर्सन र काइओ जोर्जे निष्कासित भए।
यस्तै एट्लेटिको मिनेरोबाट एभर्सन, गाब्रिएल डेल्फिम, प्रेसीआदो, ल्याङ्को, रुआन ट्रेसोल्डी, जुनियर अलोन्सो, रेना लोदी, एलान फ्रान्को, एलान मिन्डा, कासिएरा र हल्कलाई पनि रातो कार्ड देखाइएको थियो। एकै खेलमा यति धेरै खेलाडी निष्कासित भएको घटना ब्राजिलको फुटबल इतिहासमा दुर्लभ मानिएको छ। खेलपछि घटनाबारे फुटबल अधिकारीहरूले थप अनुसन्धान गर्ने जनाइएको छ।
विश्व फुटबल इतिहासमा भने सन् २०११ मा अर्जेन्टिनामा क्लब एट्लेटिको क्लेपोले र भिक्टोरियानो अरेनासबीच भएको खेलमा झडपपछि रेफ्रीले खेलाडी तथा बेन्चका सदस्यसहित कुल ३६ जनालाई रातो कार्ड देखाएका थिए, जुन अहिलेसम्मको सबैभन्दा ठूलो निष्कासनको घटना मानिन्छ।