काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को फाइनल आज भारत र न्युजिल्यान्डबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुँदैछ। नेपाली समयअनुसार फाइनल साँझ सवा ७ बजे सुरु हुनेछ।
घरेलु मैदानमा खेल्ने भारतले सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै चौथो पटक फाइनल खेल्ने अवसर प्राप्त गरेको छ। यसअघि भारतले २००७ को पहिलो संस्करण र २०२४ को पछिल्लो संस्करणको उपाधि जितेको थियो भने २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो। यस पटक भारतले उपाधि जितेमा टी-२० विश्वकपको इतिहासमा तीन पटक उपाधि जित्ने पहिलो टोली बन्नेछ।
न्युजिल्यान्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। कप्तान मिचेल सान्टनरले फाइनलमा घरेलु समर्थकलाई शान्त पार्दै उपाधि जित्ने योजना रहेको बताएका छन्। न्युजिल्यान्डले सन् २०२१ मा टी-२० विश्वकपको फाइनल खेल्दा अस्ट्रेलियासँग पराजित भएको थियो। यस पटक उपाधि जितेमा न्युजिल्यान्डको टी-२० र ओडिआईमा पहिलो विश्वकप उपाधि हुनेछ।
भारत र न्युजिल्यान्डबीचको टी-२० इतिहासमा अहिलेसम्म ३० खेल खेलिएको छ। जसमा भारतले १८ खेल जितेको छ भने न्युजिल्यान्डले ११ खेल जितेको छ। भारतले जितेका खेलमध्ये दुई खेल सुपर ओभरमा जितेको थियो भने एक खेल टाई भएको थियो।
फाइनलअघि भारतका कप्तान सूर्यकुमार यादवले टोलीलाई नेतृत्व गर्न पाउनु विशेष भएको बताएका छन्। उनी र सम्पूर्ण भारतीय टिम उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले आफूहरुको टोली फेभरेट नभए पनि चुनौतीपूर्ण खेल प्रदर्शन गर्ने योजना रहेको बताएका छन्।
भारतले सुपर ८ मा दक्षिण अफ्रिकासँग एक खेलमा हार बेहोरे पनि आठ खेलमध्ये सात खेल जित्दै फाइनलमा स्थान बनाएको थियो। न्युजिल्यान्डको यात्रा उतारचढावपूर्ण रह्यो, समूह चरणमा तीन जित र एक हारपछि उपविजेता बनेको टोलीले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको हो।
आजको फाइनल खेलले टी-२० विश्वकपको उपाधि को जीत्ने भन्ने विषयमा स्पष्टता दिनेछ र दुवै टोलीका समर्थकहरूको नजर अहमदावादमा केन्द्रित हुनेछ।