काठमाडौं । हास्य कलाकार ‘पाँडे’का रूपमा परिचित अर्जुन घिमिरे को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ हल रिलिज भएको दुई महिनामै निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक गरिएको छ। बिहीबार उक्त फिल्म काठमाडौंका पूर्वमेयर तथा र्यापर बालेन्द्र शाह (बालेन)को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
फिल्ममा बालेन स्वयंले गाएको ‘आम नेपाली बुबा’ गीत समावेश छ, जुन दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको थियो ।फिल्मलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका शाहको युट्युब च्यानलबाट प्रतिनिधि सभा निर्वाचनको संघारमा रिलिज गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्धको कथावस्तुमा आधारित फिल्मले चुनावी माहोलमा प्रभाव पार्ने अनुमान गरिएको छ। कतिपयले यसलाई बालेनको चुनावी रणनीतिको हिस्सा समेत भनेका छन्।
गत पुष ४ गते प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’ व्यावसायिक रूपमा सफल हुन सकेन। चलचित्र विकास बोर्डअन्तर्गतको बक्स अफिस तथ्यांकअनुसार फिल्मले प्रदर्शन अवधिभर १ करोड २८ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।
निर्देशक घिमिरे स्वयंको कथामा आधारित फिल्ममा अर्जुन घिमिरेसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी र जेसिका पोखरेललगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने अनिशा सेन्दाङ लिम्बू निर्मात्री हुन्। छायांकन बुद्ध थापाले गरेका छन्।
हलमा अपेक्षित सफलता नपाए पनि डिजिटल रिलिजपछि ‘झरीपछिको इन्द्रेणी’ले नयाँ दर्शकवर्ग तान्ने अपेक्षा गरिएको छ।