काठमाडौं । अभिनेत्री रेखा थापा करिब आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी छन्। उनको निर्देशनमा बन्ने नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को महाशिवरात्रीको अवसर पारेर आइतबार काठमाडौंमा एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको हो। यो रेखाको तेस्रो निर्देशकीय प्रोजेक्ट हो। यसअघि उनले हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी छन्।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूको संयोजन रहनेछ। कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतको अभिनय रहने जनाइएको छ।
निर्माण घोषणासँगै सार्वजनिक दुई पोस्टरमध्ये एउटामा त्रिकोणात्मक प्रेम सम्बन्ध झल्काइएको छ भने अर्को पोस्टरमा बाबु-छोराको आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ। यसले प्रेम सम्बन्धका उतारचढाव र सन्तानको कर्तव्यबीचको कथावस्तुमा फिल्म केन्द्रित हुन सक्ने संकेत दिएको छ, यद्यपि निर्माण पक्षले कथाबारे विस्तृत जानकारी खुलाएको छैन।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ। ध्रुव लम्सालको लेखन रहेको फिल्ममा रंग पत्रकार राजन घिमिरे को-अर्डिनेटरका रूपमा संलग्न छन्। आगामी तीजलाई प्रदर्शन मिति लक्ष्य राखिएको फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।