काठमाडौं । चलचित्र पत्रकार सङ्घ नेपालले आफ्ना निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको स्मृतिमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उक्त निर्णय सार्वजनिक गरिएको हो।
कार्यक्रममा संघका अध्यक्षले कम्तीमा १० लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना गरिने, प्रत्येक वर्ष माघ १८ गते सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिने तथा संघको वार्षिक उत्सवमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिने जानकारी दिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्व। सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा पुर्याएको योगदानको स्मरण गर्दै बोर्डका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनले पुराना र नयाँ पुस्ताका पत्रकार तथा चलचित्रकर्मीबीच सहकार्यको वातावरण सिर्जना गर्न सिटौलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
त्यस्तै, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै सिटौलालाई मिलनसार, सहयोगी र सकारात्मक सोचका धनी व्यक्तित्वका रूपमा सम्झिए। कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा र रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै सिटौलाको योगदानको चर्चा गरेका थिए।
अक्षय कोषका लागि विभिन्न संघ-संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ। ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले संयुक्त रूपमा २५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट लक्ष्मण सुवेदीले ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। यसअघि नै ३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ।
यसैबीच, झरी पछिको इन्द्रेणी टिमले प्रदर्शनको ५१औँ दिनको अवसरमा अक्षय कोषका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघले कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको नामावली क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।