काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हाताभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। केही समूह तथा राजनीतिक दलले फागुन १ गते विमानस्थल क्षेत्र आसपास प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले संवेदनशील क्षेत्रको सुरक्षा ध्यानमा राख्दै उक्त निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार बिहीबारदेखि लागू हुने गरी विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ। निषेधाज्ञा लागू हुने क्षेत्र विमानस्थल प्रवेश गर्ने ‘गोल्डेन गेट’देखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सम्पूर्ण हाताभित्रको क्षेत्र समेटिएको छ।
आदेशमा उल्लेख गरिएअनुसार विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थानमा भेला तथा प्रदर्शन गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो। यद्यपि, निषेधाज्ञा जारी गरिएका क्षेत्र बाहेकका स्थानमा संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोध गर्ने अधिकारप्रति प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।
साथै, पूर्वजानकारी गराई गरिने विरोध कार्यक्रमबाट पनि सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगे आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनी प्रशासनले दिएको छ। उक्त निषेधाज्ञा एक महिनासम्म लागू रहने जनाइएको छ।