काठमाडौं । शनिबारदेखि ‘भ्यालेन्टाइन सप्ताह’ सुरु हुँदैछ। प्रेमिल जोडीहरूका लागि गुलाब, चकलेट र उपहार साटासाट गर्ने यो सप्ताह पछिल्ला वर्षहरूमा गीतसंगीत र फिल्ममार्फत प्रेम अभिव्यक्त गर्ने अवसरका रूपमा पनि स्थापित हुँदै गएको छ।
यही प्रेमिल मौसममा यस वर्षको भ्यालेन्टाइन डे झन् विशेष बन्ने देखिएको छ। कारण, प्रेम र ब्रेकअपका दुई फरक धार बोकेका फिल्महरू शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। ती फिल्म हुन्- ‘कुमारी’ र ‘रमिताको पिरती’।
जेनजी पुस्तालाई लक्षित गरेर निर्माण गरिएका यी दुवै फिल्म विषयवस्तुका हिसाबले भने एकअर्काभन्दा बिल्कुलै फरक छन्। ‘कुमारी’ विशुद्ध प्रेमकथामा आधारित जेनजी लभस्टोरी हो। अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहेको फिल्मले सामाजिक मूल्य-मान्यता र पारिवारिक अवरोधबीच प्रेमले भोग्ने उतारचढावलाई पर्दामा उतारेको छ।
‘डोको बुन्ने निगालो चोयाले’ गीतमार्फत चर्चामा आएको यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभस्टोरी फिल्म निर्देशन गरिसकेका राउतको यो नयाँ प्रस्तुति पनि दर्शकको अपेक्षाको केन्द्रमा छ। महेन्द्र अधिकारीको निर्माण र विकास सुवेदीको लेखन रहेको फिल्मले देशभर १५० भन्दा बढी शो पाएको छ र बक्स अफिसमा सुखद व्यापार गर्ने अनुमान गरिएको छ।
अर्कोतर्फ, सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’ प्रेमको उज्यालोभन्दा फरक, ब्रेकअपपछि बाँकी रहने अँध्यारो भावनाको कथा हो। आदर्श प्रेमको खोजीमा रहेकी युवतीले लगातारको ब्रेकअपपछि भोग्ने मानसिक तनाव, चिन्ता र पीडालाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ र रेनु योगीको अभिनय रहेको यस फिल्मका निर्माता सागर लम्साल हुन्। प्रेमको पीडा र मनोवैज्ञानिक संघर्षलाई केन्द्रमा राखेको यो फिल्म भ्यालेन्टाइनको समयमा फरक स्वाद खोज्ने दर्शकका लागि आकर्षण बन्ने अपेक्षा गरिएको छ।
प्रेमको उत्सव मनाउने मौसममा पर्दामा प्रेम र ब्रेकअपका दुई फरक कथा देखिनुले यस वर्षको भ्यालेन्टाइन सप्ताहलाई अझ रोचक बनाएको छ।