काठमाडौं । निर्वाचन आयोगले अब देशभर शान्तिपूर्ण र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षा चुनौतीहरू पहिचान गरी आवश्यक तयारी पूरा भइसकेकाले निर्वाचन ढुक्कसँग हुने बताएका छन्।
निर्वाचन घोषणापछि सुरक्षाको विषयमा विभिन्न आशंका उठे पनि अहिले ती आशंका हटिसकेको भण्डारीको भनाइ छ। “निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै शान्ति सुरक्षाको विषयमा छलफल सुरु गरेका थियौँ,” उनले भने, “सुरुमा जिज्ञासा र चासो स्वाभाविक थियो, तर अहिले त्यस्तो अवस्था छैन।”
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन्।
विद्रोहपछिको राजनीतिक संक्रमणकालका कारण सुरक्षाको विषयलाई गम्भीर रूपमा लिइएको भण्डारीले बताए। “संविधान जीवित छ। तर पुराना र नयाँ शक्तिबीच सन्तुलन कायम नभए निर्वाचन शान्तिपूर्ण हुन सक्दैन,” उनले भने।
निर्वाचन आयोगले दलका नेता, उम्मेदवार तथा मतदानमा सहभागी मतदाताको सुरक्षालाई केन्द्रमा राखेर सरकार र सुरक्षा निकायसँग पटक-पटक छलफल गरेको जनाएको छ। आयोगका अनुसार ती छलफलका आधारमा अहिले सुरक्षा निकाय मतदाताको सुरक्षा गर्न सक्षम देखिएका छन्।“सबै कोणबाट मूल्यांकन गर्दा अब शान्ति सुरक्षाको विषयमा धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन,” भण्डारीले भने, “निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा हुन्छ। यहाँ कसैले बिथोल्न सक्दैन।”
उनका अनुसार निर्वाचन बिथोल्ने प्रयास गर्ने तत्त्वहरू सुरुमै परास्त भइसकेकाले अब प्रक्रिया सहज रूपमा अघि बढ्ने विश्वास आयोगले लिएको छ।