काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति अर्थात महँगीमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र\८३ को ६ महिनाको तथ्यांक अनुसार पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा खुम्चिएको हो ।
अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ५,४१ प्रतिशत थियो । समीक्षा महिनामा महँगी दर अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले घटेको देखिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक छ, अर्थात् गत वर्षको तुलनामा खाद्यवस्तुको समग्र मूल्यमा केही कमी आएको छ ।
खाद्य समूह अन्तर्गत दाल तथा गेडागुडीको मूल्य ५.५२ प्रतिशत, मरमसला ३.९२ र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ३.७० प्रतिशतले घटेको छ । यद्यपि, फलफूल ५.२० प्रतिशत, घिउ तथा तेल ४.९६ र गैरमदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतको वृद्धि देखिएको छ ।
गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत छ । यस समूह अन्तर्गत विविध वस्तु तथा सेवाको मूल्यमा २१.७५ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यस्तै शिक्षामा ७.५६, कपडा तथा जुत्ताचप्पल ५.२९ र सुर्तीजन्य पदार्थको मूल्य ४.१५ प्रतिशत बढेको छ ।
क्षेत्रगत आधारमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी केही बढी देखिएको छ । ग्रामीण क्षेत्रको मुद्रास्फीति १.९९ प्रतिशत रहँदा सहरी क्षेत्रको २.५७ प्रतिशत छ ।
प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ३.३७ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १.०८ प्रतिशत मुद्रास्फीति छ । अन्य प्रदेशमा कोशी ३.२५, बागमती २.१०, लुम्बिनी २.६२, गण्डकी १.७६ र सुदूरपश्चिम १.२७ प्रतिशत मुद्रास्फीति कायम भएको छ । काठमाडौं उपत्यकामा भने महँगी दर २.४८ प्रतिशत छ ।
उपभोक्ता मुद्रास्फीति घटे पनि थोक मुद्रास्फीति भने वृद्धि भएको छ । २०८२ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.०१ प्रतिशतमात्र थियो । थोक मूल्य अन्तर्गत निर्माण सामग्री मूल्यमा ३.४८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
चालु आव २०८२\८३ पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।