काठमाडौं। कङ्ग फू मास्टरका रूपमा विश्वभर परिचित हलिउड अभिनेता ज्याकी च्यानले आफ्नो निधनपछि मात्र सार्वजनिक हुने गरी एक भावुक गीत रेकर्ड गराएको खुलासा गरेका छन् । उनले उक्त गीतलाई ‘फेयरवेल’को रूपमा वर्णन गर्दै, यो गीत नै संसारका लागि आफ्नो अन्तिम सन्देश हुने बताएका छन् ।
चीनको राजधानी बेइजिङमा आयोजित आफ्नो नयाँ फिल्म ‘अनएक्सपेक्टेड फेमिली’ को प्रिमियर कार्यक्रममा बोल्दै ज्याकी च्यानले यसबारे खुलासा गरेका हुन् । चिनियाँ सञ्चारमाध्यम चीन डट ओआरजी डट सिएनको रिपोर्टअनुसार उमेरसँगै आफन्त र साथीहरू गुमाउँदै जाँदा जीवनप्रति आफ्नो सोच बदलिएको उनले बताएका छन् ।
ज्याकी च्यानको भनाइ उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ, ‘उमेर बढेसँगै मैले नजिकका धेरै मानिस गुमाएँ । यसले मलाई जीवन कति छोटो छ भन्ने गहिरो रूपमा महसुस गरायो । मनमा लागेको कुरा समयमै व्यक्त गर्नुपर्छ भन्ने सोचबाट मैले यो गीत रेकर्ड गरेँ ।’
उनका अनुसार उक्त गीत केवल संगीत मात्र नभई जीवनप्रतिको अनुभूति र विदाइको भावना हो । ‘पछिल्ला केही वर्षमा घटेका घटनाले मलाई सिकायो कि जीवनमा केही पनि स्थायी हुँदैन । त्यसैले मैले संसारबाट विदा लिनुअघि आफ्नो भावना गीतमार्फत सबैसँग बाँड्न चाहें,’ उनले भनेका छन् ।
यद्यपि ज्याकी च्यान उक्त गीत तत्कालै सार्वजनिक गर्न चाहन्थे, तर परिवारका सदस्यको सुझावपछि अहिले नै गीत रिलिज नगर्ने निर्णय गरेका हुन् । अब उक्त गीत उनको निधनपछि मात्र सार्वजनिक गरिनेछ ।
फिल्म प्रिमियरका क्रममा दर्शकले गीतको केही अंश सुनाउन आग्रह गर्दा उनले हाँस्दै भने, ‘यदि मैले अहिले गाएँ भने तपाईंहरू रुन थाल्नुहुन्छ ।’