काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज दिउँसो १२:४५ बजे उनको निधन भएको पुष्टि गरेको छ।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व काठमाडौं मेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि गम्भीर इन्टेन्सिभ केयरमा राखिए पनि ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा सुधार देखिएको थिएन। चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण (एप्निया परीक्षण) पोजेटिभ देखिएपछि स्वतः श्वासप्रश्वास नभएको पुष्टि भयो। अस्पतालका अनुसार, उनलाई सब-अरैक्नोइड हेमरेज भएको थियो। चिकित्सकका अनुसार यो मस्तिष्कमा हुने अत्यन्तै गम्भीर रक्तस्राव हो, जसमा उपचार ढिला भए मृत्युदर निकै उच्च हुन्छ। अस्पताल ल्याइँदा सिटौलाको चेतनास्तर न्यून थियो र मुटुको चाल करिब ४५ मिनेट बन्द भएको थियो।
सब-अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्दा हुन्छ। अचानक रगतचाप बढ्नु, अत्यधिक तनाव, धूम्रपान, मदिरा सेवन वा शारीरिक श्रमले पनि यसलाई ट्रिगर गर्न सक्छ। रोगको प्रमुख लक्षणमा अचानक अत्यन्तै चर्को टाउको दुखाइ, बेहोस हुनु, वाकवाकी, बान्ता र आँखामा समस्या पर्नु पर्दछ।
चिकित्सकका अनुसार, यस रोगको उपचारमा सीटी स्क्यान वा एमआरआईबाट रक्तस्राव पत्ता लगाएर, एन्युरिज्म भए शल्यक्रिया (क्लिपिङ) वा कोइलिङ जस्ता प्रक्रिया अपनाइन्छ। तर प्रारम्भिक अवस्था अत्यन्तै गम्भीर हुने भएकाले सबै केसमा सुधार आउँदैन।
सिटौला नेपाली चलचित्र पत्रकारितामा लामो समयदेखि सक्रिय थिए र उनको निधनले पत्रकार समुदायमा शोकको लहर उत्पन्न भएको छ।