काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङ प्रतियोगिताको ताज जितेकी छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।
विजेता मोक्तानलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिराएकी थिइन्। मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गरिन्। यसैगरी उनले मिस कन्फिडेन्ट र भ्युअर चोइस टाइटलसमेत जित्न सफल भइन्।
निर्णायकको प्रश्नोत्तर चरणमा ‘नेपाललाई सांस्कृतिक रूपमा संसारमा चिनाउन के गर्नुहुन्छ रु’ भन्ने प्रश्नको प्रभावशाली जवाफ दिँदै मोक्तानले निर्णायकको मन जितेकी थिइन्। उनले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकका रूपमा प्रस्तुत गर्ने बताइन्। उनको भनाइ थियो, “हाम्रो विविधताभित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई गर्व गराउँछ। सेलोको धड्कन र साकेलाको धुनले हामीलाई एक बनाएको छ। १२० भन्दा बढी भाषाहरू अवरोधरहित बोलिन्छन्, हाम्रो पहिरनले सांस्कृतिक सुन्दरता बोकेको छ। यही विषयमार्फत नेपाललाई संसारमा चिनाउन चाहन्छु।”
इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप, सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप र ओसिन गोले तामाङ थर्ड रनर अप घोषित भए। फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक संस्था मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले जानकारी दिइन्। विजेताहरूलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र अभिनेता अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा विभिन्न उपाधिहरू पनि प्रदान गरिएको थियो। मिस फोटो जेनिक सृष्टि थिङ तामाङ, मिस ट्यालेन्ट देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडिया ऐश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयर सुजिना गोङ्बा तामाङ, मिस पर्सनालिटी कबिना वाइबा तामाङ र मिस डिसिप्लिन पुजा जिम्बा तामाङले जिते। त्यसैगरी ब्युटिफुल हेयर र बेस्ट स्माइलको उपाधि स्वर्णिमा थिङ तामाङले हात पारिन्।