काठमाडौं । लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ शुक्रबार अचानक घटेको छ। नेपाली बजारमा बिहीबार तोलामा तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर ३,१८,८०० रुपैयाँमा झरेको छ।
सुनचाँदीको मूल्यमा आएको यस्तो उतारचढावमा नेपाली बजार मात्र होइन, अन्तर्राष्ट्रिय बजारको पनि ठूलो भूमिका रहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस ५,६०० डलर पुगेको थियो भने शुक्रबार यो घटेर ४,८९५ डलरमा झरेको छ।
विश्लेषकहरूले अमेरिकी डलर बलियो भएपछि सुनको मूल्य घटेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भको प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता घटेको र डलर बलियो भएको उनीहरूको तर्क छ।
सुन लामो समयसम्म सुरक्षित राख्न सकिने सम्पत्ति भएकाले आर्थिक र भूराजनीतिक अनिश्चितता बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुन्छन्। तर, फेडको नेतृत्वमा नयाँ नियुक्ति भएपछि अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ, जसले लगानीकर्ताको ध्यान सुनबाट डलरतर्फ मोड्न सुरु गरेको छ।
विश्लेषकहरूले निकट भविष्यमा सुनको भाउ अझै उतारचढाव बेहोर्न सक्ने चेतावनी दिएका छन्। केही वैश्विक आर्थिक र भूराजनीतिक जोखिमहरू सन् २०२६ को अन्तसम्म कम हुनसक्ने अनुमान छ, जसले सुनको भाउमा गिरावट आउन सक्ने सम्भावना देखाइएको छ।