काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले निर्वाचन केन्द्रित सुरक्षा रणनीतिअनुसार नियमित तथा एकीकृत गस्ती बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले अहिले राजधानीमा एकीकृत सुरक्षा गस्ती सुरु गरिएको छ। उनले काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा रहेको जानकारी दिए। “सुरक्षा चुनौतीका सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै विभिन्न निकायबीच समन्वय गरेर गस्ती र निगरानी बढाइएको छ,” एसएसपी थापाले बताए।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन होटल, लज तथा भीडभाड हुने स्थानहरूमा ‘डग स्नीफिङ’ सहितको जाँच सुरु गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, राजधानीका विभिन्न स्थानमा आकस्मिक रूपमा ‘सरप्राइज चेकिङ’ समेत भइरहेको छ। एसएसपी थापाका अनुसार सुरक्षा चुनौतीसम्बन्धी सूचनाहरू संकलन गरी त्यसको विश्लेषण गर्दै आवश्यक सुरक्षा रणनीति तयार पारेर कार्यान्वयन गरिनेछ।
काठमाडौं जिल्लामा कुल ३२० मतदानस्थल रहेका छन्। तीमध्ये १७६ मतदानस्थललाई सामान्य र १४४ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौंमा हालसम्म कुनै पनि मतदानस्थललाई अतिसंवेदनशील श्रेणीमा वर्गीकृत गरिएको छैन।
निर्वाचन सुरक्षाका लागि काठमाडौंमा मात्रै ३ हजार ८५४ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। ती सुरक्षाकर्मीलाई मतदानस्थल सुरक्षा, गस्ती, निगरानी तथा आकस्मिक प्रतिक्रिया टोलीमा परिचालन गरिने जनाइएको छ।
प्रहरी प्रशासनले निर्वाचन अवधिभर आम नागरिकलाई पनि शान्ति-सुरक्षामा सहयोग गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ।