काठमाडौं। लोकप्रिय लोकरक ब्याण्ड ‘नेपथ्य’ ले फेब्रुअरी महिनालाई संगीतको उत्सव बनाउने गरी स्वदेश यात्रा अन्तर्गत चार सहरमा कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ। पहिलो चरणमा हेटौंडा, बुटवल, नारायणघाट र बन्दीपुरमा कन्सर्ट हुने भएको हो।
फेब्रुअरी ४ तारिख (माघ २१ गते) बाट सुरु हुने यात्राको पहिलो प्रस्तुति हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुनेछ। तीन वर्षपछि पुनः हेटौंडा फर्किन लागेको नेपथ्यले यसपटक विद्यालयसँग जोडिएको भैरव रोडतर्फको मैदानमा प्रस्तुति दिनेछ। हेटौंडापछि माघ २४ गते ‘रोज डे’को साँझ बुटवलको रामनगरस्थित बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टरमा कन्सर्ट आयोजना हुनेछ। शनिबार परेकाले बुटवल र आसपासका दर्शकका लागि प्रेमिल सांगीतिक जमघट हुने अपेक्षा गरिएको छ।
त्यसपछि माघ २७ गते नारायणघाटको क्याम्पा चौरमा नेपथ्यको प्रस्तुति रहनेछ। तीनै सहरले तीन वर्षको अन्तरालपछि फेरि नेपथ्यलाई स्वागत गर्न लागेका हुन्। यात्राको चौथो र विशेष प्रस्तुति भने फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन्स डेमा सुन्दर पहाडी नगरी बन्दीपुरमा आयोजना हुनेछ। पहिलोपटक बन्दीपुर पुग्न लागेको नेपथ्यले टुँडिखेल क्षेत्रमा दर्शकलाई सांगीतिक अनुभव दिलाउने तयारी गरेको छ।
ब्याण्डका मुख्य गायक अमृत गुरुङले विगतमा आफूहरूलाई आत्मीय माया दिएको सहरहरूमा पुनः भेट्न आतुर रहेको र बन्दीपुरमा गायकका रूपमा पुग्नु नयाँ अनुभव हुने बताएका छन्। कन्सर्ट व्यवस्थापन हेटौंडामा ‘रमाइलो इभेन्ट्स्’, बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’, नारायणघाटमा ‘नेपाल डायरीज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ ले गर्नेछन्। अनलाइन टिकट बिक्री खुला भइसकेको छ भने बुटवल, नारायणघाट र बन्दीपुरका अर्ली बर्ड टिकट सकिएको आयोजकले जनाएका छन्।
विद्यार्थी तथा विशेष समूहका लागि सहुलियत दरका टिकट पनि उपलब्ध छन्। सबै कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटमार्फत अनलाइनबाटै काट्न सकिने व्यवस्था गरिएको छ।
नेपथ्यको स्वदेश यात्रा दोस्रो चरण आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ।