काठमाडौं । नेपाली बक्स अफिसमा इतिहास रच्दै ५० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेल नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणमा जुटेका छन् । अलटाइम ब्लकबस्टर बनेको ‘पूर्णबहादुरको सारङ्गी’ले पौडेललाई ‘ब्लकबस्टर निर्देशक’को पहिचान दिलाएको थियो ।
सामान्य गन्धर्व परिवारको कथा, बाबुछोराको भावनात्मक सम्बन्ध र शैक्षिक संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको मन जित्न सफल भएको थियो । चलचित्रले निर्देशक पौडेलसँगै अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको करियरमा पनि नयाँ मोड ल्याएको थियो ।
त्यही सफलतापछि पौडेलले नयाँ प्रोजेक्ट ‘सिन्दुरे जात्रा’ घोषणा गरेका छन् । ‘सारंगी फिल्म्स’ को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा ‘पूर्णबहादुरको सारङ्गी’ कै हिट जोडी विजय बराल र अञ्जना बराइलीलाई पुनः दोहोर्याइएको छ । केही दिनअघि मात्र दुवै कलाकार चलचित्रका लागि अनुबन्धित भएका हुन् ।
‘सिन्दुरे जात्रा’ लाई लिएर उत्साहित पौडेल चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि सम्झौता नगर्ने बताउँछन् । उनी भन्छन्, “पूर्णबहादुरको सारङ्गी बनाउँदा जति मेहनत गरेको थिएँ, यो चलचित्रमा पनि त्यति नै मिहिनेत गर्छु । राम्रो चलचित्र बनाउन कुनै कसर बाँकी राख्दिनँ । कलाकार छनोटमा पनि सम्झौता हुँदैन ।” विजय र अञ्जनालाई पुनः दोहोर्याउनुको कारणबारे स्पष्ट पार्दै पौडेलले कथाको मागअनुसार कलाकार चयन गरिएको बताए । “उहाँहरू बजारले रुचाएका कलाकार भएकै कारण लिएका होइनौँ । कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गरिएको हो,” उनले भने ।
चलचित्र राम्रो बन्न कथावस्तु र पात्रबीचको मेल अत्यन्त आवश्यक हुने पौडेलको धारणा छ । “कथाले सुहाउँदो पात्र पाएपछि मात्र चलचित्रले जीवन पाउँछ । त्यस पात्रलाई न्याय गर्ने कलाकार लिनु हाम्रो बाध्यता हो,” उनले थपे ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको ‘सिन्दुरे जात्रा’को कथा निर्देशक पौडेल स्वयंको हो । चलचित्रको छायांकन तथा प्रदर्शन मितिबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।