काठमाडौं। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार विभिन्न उजुरीका आधारमा उम्मेदवारहरूसँग लिखित जवाफ मागिएको हो ।
स्पष्टीकरण सोधिनेमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर २ का उम्मेदवार महेश बस्नेत रहेका छन् । यस्तै, भक्तपुर २ कै उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार बालेन्द्र शाहको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा प्रतिक्रिया (कमेन्ट) गरेको विषय आचारसंहिता विपरीत भएको भन्दै उजुरी परेको छ । कमल भुसाल (निकोलस) को हकमा ‘जेन-जी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण माग गरिएको हो । हर्क साम्पाङको हकमा भने चुनावी प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतका विषयमा उजुरी परेको आयोगले जनाएको छ ।
भक्तपुर २ का उम्मेदवार महेश बस्नेतमाथि अर्का उम्मेदवार बालेन्द्र शाहलाई लक्षित गर्दै अमर्यादित शब्द प्रयोग गरेको आरोप लागेको छ । त्यस्तै, जानुका पाठकमाथि उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
यसैबीच, स्वास्थ्य स्वयंसेवक संघलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन आयोजना गरेको आरोपमा संघसँग जवाफ मागिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सबै उम्मेदवार र सम्बन्धित संस्थालाई तोकिएको समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ लागू गरिने स्पष्ट पारेको छ ।