काठमाडौं । माघ २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको प्रेम कथानक चलचित्र ‘कुमारी’ अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा तथा मध्यपूर्वका देशहरूमा पनि एकसाथ रिलिज हुने भएको छ।
विभिन्न मुलुकहरूमा ओभरसिज प्रदर्शन अधिकार बिक्री भएसँगै चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि बलियो उपस्थिति जनाउने भएको हो। निर्माता महेन्द्र अधिकारीका अनुसार, अस्ट्रेलियामा चलचित्रलाई असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन तथा कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वका देशहरूमा नेपफिल्मले रिलिज गर्नेछन्। दर्शक तथा वितरकहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रियाका कारण अन्य देशहरूबाट समेत चलचित्र प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताएका छन्।
चलचित्र ‘कुमारी’ निर्देशक दिनेश राउतको निर्देशनमा बनेको हो। यस चलचित्रमार्फत अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी केदार भुसालले सम्हालेका छन्।
यतिबेला चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय बनेको छ। सार्वजनिक भएको तीन हप्तामै उक्त गीतले झन्डै ६ मिलियन ९६० लाख० पटक हेरिने कीर्तिमान बनाइसकेको छ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको ‘कुमारी’ले प्रेम कथामा आधारित नेपाली चलचित्रप्रति दर्शकको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।