काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्ने भएको छ। उक्त बैठकले सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सानेपा पुग्नेछन्। उनले अनलाइनखबरसँग भने, ‘भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपा जाँदैछौँ।’ पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। तर सभापति निर्वाचित भएयता थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरेका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै बसेको थियो।
यसअघि नयाँ नेतृत्व पार्टी केन्द्रीय कार्यालय नगएकाले पार्टीभित्र विभिन्न अड्कलबाजी र आलोचना हुँदै आएको थियो। शुक्रबारको बैठक भने विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामै बस्न लागेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार काठमाडौं बाहिर रहेका केन्द्रीय सदस्यहरू सहभागी हुन नसक्ने भएकाले उपलब्ध नेताहरू मात्रै बैठकमा सहभागी हुनेछन्। ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छ,’ उनले भने।
पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अन्य दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरिसकेको छ।
कांग्रेसभित्र भने विशेष महाधिवेशनलाई लिएर विवाद चर्किएको थियो। गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले असहमति जनाउँदै आएको थियो। यद्यपि देउवा समूहका नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरेको बताए पनि गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर उम्मेदवारी दिएका छन्।
त्यसैबीच देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ। विशेष महाधिवेशनपछि केही समय देउवा समूहका केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरूलाई प्रवेश नदिने भन्दै कब्जा गरेका थिए। तर हाल उनीहरूले कार्यालय छोडिसकेका छन्।
शुक्रबार बस्ने बैठकले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी निर्वाचन रणनीतिमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।