काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारीले काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। कला क्षेत्रमा स्थापित नाम बनाइसकेकी अधिकारीको राजनीतिमा सक्रिय प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उम्मेदवारी दर्तापछि अनलाइनखबरसँग कुरा गर्दै अधिकारीले आफू आगामी १० वर्ष देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरिन्। पार्टीले अघि सारेको ‘वडा-वडामा दिगो रोजगारी’ कार्यक्रमलाई प्राथमिक एजेन्डा बनाउँदै अघि बढ्ने उनको भनाइ छ।
उनले उद्यमशीलता, पर्यटन, कृषि, प्रविधि र मानसिक स्वास्थ्यजस्ता विषयलाई विज्ञहरूसँग छलफल गर्दै नीतिगत रूपमा अघि बढाइने बताइन्। “हामी नारामा सीमित हुने पार्टी होइनौं, समस्या समाधानसहितको ‘हाउ पार्टी’ बन्न चाहन्छौं,” अधिकारीले भनिन्।
काठमाडौं-५ कै मतदाता रहेकी अधिकारीले अहिलेसम्म आफूले योग्य उम्मेदवारलाई मत दिन नपाएको अनुभव पनि साझा गरिन्। साथै, राजनीतिमा महिलाको न्यून सहभागिताप्रति चिन्ता व्यक्त गर्दै उनले महिला सशक्तीकरणलाई समाजको समग्र मुद्दा भएको उल्लेख गरिन्। “महिलाको कुरा भान्सादेखि सदनसम्म पुग्नुपर्छ,” उनले भनिन्।
गतिशील लोकतान्त्रिक पार्टीले यस निर्वाचनमा ‘फुल चार्ज ब्याट्री’लाई चुनाव चिह्नका रूपमा प्रयोग गरेको छ। अधिकारीको उम्मेदवारीले काठमाडौं-५ को राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।