काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विधानविपरीत ‘विशेष महाधिवेशन’को नाममा भेला आयोजना गरिएकोप्रति कडा असहमति जनाएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका तर्फबाट धारणा सार्वजनिक गर्दै खड्काले पार्टी विधान र आन्तरिक अनुशासनको उल्लङ्घन भएको दाबी गरे।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले राजनीतिक दलहरू संविधान र कानुनअनुसार चल्नुपर्ने बताउँदै पार्टीभित्रैबाट केही व्यक्तिले विधानभन्दा बाहिर गएर गतिविधि गरेको आरोप लगाए। उनले विशेष महाधिवेशनको नाममा भेला बोलाएर निर्वाचन आयोगसम्म पुगेको विषय गम्भीर भएको बताए।
‘पार्टी विधानअनुसार नै सञ्चालन हुन्छ,’ खड्काले भने, ‘संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा हुन्छ। तर विषम परिस्थितिको बहानामा पार्टी अनुशासनविपरीत गतिविधि भएका छन्।’ उनले यस विषयमा निर्वाचन आयोगमा पार्टीको वैधानिक हैसियत, विधान र संरचनाबारे औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए।
खड्काले पार्टीको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेसको विधानका धारा र दफाले अन्य कुनै व्यक्ति वा समूहलाई यस्तो अधिकार नदिएको बताए।‘विशेष महाधिवेशन के कसरी गर्ने भन्ने सम्पूर्ण विधि केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै तय हुन्छ,’ उनले भने, ‘केन्द्रीय समितिलाई जानकारी नै नभई विशेष महाधिवेशन भनिँदै भेला गरिनु विधानसम्मत होइन।’
उनले विशेष महाधिवेशन माग गर्दै दर्ता गरिएको निवेदनका विषयमा पनि प्रस्ट्याउँदै नियमित महाधिवेशनको प्रक्रिया त्यसैको आधारमा अघि बढाइएको तर परिस्थितिका कारण संशोधन आवश्यक देखिएको बताए।