काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक तरंगबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ, जसकै पृष्ठभूमिमा खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय नेताहरूको उल्लेख्य उपस्थिति रहनेछ।
विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिक नेतृत्व र भावी राजनीतिक दिशाबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। खड्काले विशेष महाधिवेशनलाई असंवैधानिक ठहर गर्दै गगन थापा समूहद्वारा घोषणा गरिएको नयाँ कार्यसमितिप्रति पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यसअघि गगन थापा-विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको दाबी गर्दै नयाँ नेतृत्व घोषणा गरेको थियो। त्यसपछि देउवा पक्षधर नेताहरूले उक्त प्रक्रियालाई अस्वीकार गर्दै सम्बन्धित नेताहरूलाई कारबाहीसमेत गरेका छन्।
पार्टीभित्रको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको अवस्थामा खड्काको पत्रकार सम्मेलनले कांग्रेसको औपचारिक धारणा स्पष्ट गर्ने र आगामी रणनीतिबारे संकेत दिने विश्वास गरिएको छ। साथै, आन्तरिक एकता, संगठनात्मक अनुशासन र वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे पनि खड्काले धारणा राख्ने सम्भावना छ।
कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेका बेला हुन लागेको यो पत्रकार सम्मेलनलाई पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।