काठमाडौं । सरकारले विभिन्न महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वानदेखि लिएर कर्मचारी सरुवा, अन्तर्राष्ट्रिय सहभागिता, नीति स्वीकृतिलगायत विषयमा निर्णय भएको जानकारी दिए ।
सरकारले आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल न्याय सेवा, कानून समूहअन्तर्गतका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतको सरुवा गर्ने तथा सोही सेवाका द्वितीय श्रेणीका ८ जना अधिकृतलाई प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय भएको छ ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट (IFAD) को ४९ औं गभर्निङ काउन्सिल सेसनमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
• २०८२ माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
• अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका सदस्य राष्ट्रका रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत अमेरिकी डलर २ लाख ८३ हजार ५ सय ३ भुक्तानी गर्न स्वीकृति दिने।
• २०८२ माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एफएटिएफको एएमएल/सिएफटी सम्बन्धी प्लेनरी बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई स्वीकृति दिने।
• वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) स्वीकृत गर्ने।
• २०८२ माघ ६ र ७ गते चीनको सिजाङ (ल्हासा) मा आयोजना हुने नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
• नेपाल न्याय सेवा, कानून समूहका प्रथम श्रेणीका ८ अधिकृतको सरुवा तथा द्वितीय श्रेणीका ८ अधिकृतलाई प्रथम श्रेणीमा पदस्थापन गर्ने।
• म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकका रूपमा २०८२ माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारलाई स्वीकृति दिने।
• २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय पुनर्निर्माण तथा गंगाघाट मन्दिर पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने।
• मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने।
• समस्याग्रस्त संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी व्यवस्थापन समितिका सदस्य उद्ववप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गरी मधुकर राना (ललितपुर) लाई मनोनयन गर्ने।
• नेपाली सेनाका तीन महासेनानीलाई सहायक रथीमा बढुवा तथा दुई महासेनानीको सरुवा गर्ने।
• २०८२ माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेसमा आयोजना हुने बालश्रम उन्मूलनसम्बन्धी छैटौं विश्व सम्मेलनमा श्रम मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई सहभागी हुन स्वीकृति दिने।
• २०८२ माघ ६ देखि १२ गतेसम्म स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई सहभागी हुन स्वीकृति दिने।
• दलितको हकअधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने।
• इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
• गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गर्ने।
• २०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको १५९ औं कार्यकारी बोर्ड बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति दिने।
• प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा) लाई नियुक्त गर्ने।