काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस वर्ष आयात आयात १५ दशमलव ८३ प्रतिशतले बढेको हो ।
यस्तै निर्यात व्यापार ५८ दशमलव १७ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
नेपालले वस्तु निर्यातभन्दा धेरै आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै आयात हुने र निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ। पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात हुँदा ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
त्यस्तै आयात हुने अन्य मुख्य वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन लगायत छन् । निर्यात हुने अन्य वस्तुमा अलैँची, गलैँचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, पाम तेल लगायत छन् ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा नेपालको कुल वैदेशिक व्यापार २०।०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
नेपालले कुल १४८ मुलुकसँग व्यापार गरेकोमा ३४ वटासँग मात्रै नाफा भएको छ । ११४ मुलुकसँग नेपालको घाटा छ। यसमध्ये सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग भएको छ। भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९५ अर्ब ४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यसअनुसार भारतसँग ३ खर्ब ३९ अर्ब २ करोड बराबरको व्यापार घाटा छ ।
यसैगरी दोस्रोमा चीनसँगको व्यापार घाटा छ। चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड बराबरको वस्तु आयात हुँदा ४६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यस अनुसार चीनसँग १ खर्ब ६३ अर्ब २६ करोड बराबरको व्यापार घाटा देखिएको छ ।