भक्तपुर । सूर्यविनायक वडा नम्बर १ स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई शेयर लगानीको १० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शनिवार सम्पन्न २३ औं बार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो ।
साधारण सभामा संस्थाले आर्थिक बर्ष २०८१/०८२ नियमित कारोबारबाट २ करोड, २१ लाख २६ हजार ४५० नाफा गर्न सफल भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष प्रमोद घिमिरेले मुलुकको अर्थतन्त्रमा देखा परेको मन्दी, वित्तिय क्षेत्रमा उच्च तरलता, ब्याजदर संकुचन, न्यून पूँजीगत खर्च, घट्दो राजश्व, उत्पादनमा आएको ह्रास जस्ता कारणले थप चुनौती थपिएको बताए ।
उनले पूँजीबजारमा आएको गिरावट, घर जग्गा कारोबारमा आएको शिथिलता, बेरोजगारी, उच्च शिक्षा अध्ययनमा भएको पूँजी पलायन, शक्ति राष्ट्रहरुको बीचको द्वन्द्व जस्ता कारणले सिंगो सहकारी क्षेत्रमा समेत थप चुनौती खडा भएको बताए ।
उनले भने,‘विगतका केही बर्षदेखि सहकारी क्षेत्रले विभिन्न आरोह अवरोहको सामना गर्दै आएको छ । एकातिर नियोजित ढंगबाट यस क्षेत्रालाई बद्नाम गर्ने प्रयन्तहरु भएका छन् भने अर्काेतर्फ सुशासनमा नचलेको केही सहकारी संस्थाहरुका कारण सिंगो सहकारी अभियानप्रति नै आम जनमानसमा अविश्वास पैदा भई भ्रम सिर्जना गराउने कार्य भइरहेको छ ।’
.jpeg)
यसैगरी संस्थाका सचिव दिपककुमार न्यौपानेले संस्थाको स्थापना कालदेखि नै सुशासनलाई केन्द्रविन्दूमा राखेर काम गर्दै आएको बताउँदै संस्थाको मौजूदा विनियम, आन्तरिक कार्यविधि, व्यवस्थापन कार्यविधि र निर्देशिकाहरु अनुरुप संस्था सञ्चालनमा रहेको बताए ।
उनले नियमनकारी निकायहरुबाट समय–समयमा भएको निर्देशन, परिपत्र एवं मापदण्डको पूर्ण पालना गर्नेतर्फ संस्था सदैव अडिग रहेको बताए ।
संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विक्रम सम्बत् २०५९ सालमा ३४ जनाको सहभागितामा ३ हजार ४ सयबाट सुरु भएको संस्थाको कारोबार हाल ९६ करोड, ८६ लाख, ८६ हजार ५९५ पुगेको बताए ।
उनले गत बर्ष संस्थाको शेयर पूँजी ६ करोड ३९ लाख ६४ हजार रहेकोमा चालू आर्थिक बर्षमा १५ लाख ४६ हजार २ सयले बृद्धि भइ ६ करोड ५५ लाख १० हजार २ सय पुगेको बताए ।
यस्तै लेखा पुपरिवेक्षण समितिका संयोजक सालिकराम घिमिरेले संस्थाले सदस्यता बृद्धिका लागि सहकारी शिक्षा शिविर, वित्तिय सारक्षता जस्ता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गरी संख्यात्मक भन्दा गुणात्मक सदस्य विस्तारमा जोडदिनुपर्ने बताए ।
उनले संस्थाको ऋण लगानीलाई व्यवस्थि तगर्न ऋण उपसमिति र ऋणमा कार्यरत कर्मचारीका दक्षता अभिबृद्धि गरी पर्याप्त विश्लेषण तथा ऋण सदुपयोगिताको जाँचगरी उत्पादनमूलक क्षेत्रको लगानीलाई प्राथमिकता दिई क्षमतामा आधारित ऋण लगानी गर्नुपर्ने सुझाव दिए ।
साधारण सभामा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपाने तथा संस्थाका पूर्व अध्यक्षहरुले चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका उपलब्धी र चुनौतीका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

.jpeg)
