भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित शुभ भावना बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा ३७ लाख ७६ हजार ६६४ खूद नाफा गर्न सफल भएको छ ।
संस्थाको कार्यालय दक्षिण बाराहीमा संस्थाको १७ औं बार्षिकोत्सव समारोहमा उक्त जानकारी गराइएको हो ।
समारोहमा संस्थाका अध्यक्ष राजु लुवन्जार श्रेष्ठले केही सहकारी संस्थामा देखिएका अनियमितताका कारण सहकारीको इतिहासमै कठिन परिस्थिति व्यहोरिरहेको बताए ।
उनले मुलुकको अर्थतन्त्रमा देखा परेको मन्दी वित्तिय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, न्यून पूँजीगत खर्च लगायत अस्थित सरकार जस्ता कारणहरुले सहकारी क्षेत्रमा पनि समस्या देखिएको बताए ।उनले यस्तो विषम परिस्थितिमा पनि संस्थाले आफ्ना नियमित गतिविधि मार्फत गरेको आर्थिक प्रगति उल्लेख्य रहेको बताए ।
संस्थाका सचिव सुमन न्यौपानेले शेयर सदस्यहरुलाई आयमूलक,रोजगारमूलक, सीपमूलक कार्यमा लगानी गरी शेयर सदस्यको जीवनस्तर उकास्नको निम्ति संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।
संस्थाका कोषाध्यक्ष विनोद खड्काले आर्थिक बर्ष २०८१/०८२ मा १७ लाख ०५ हजार ५४२ ले बचत बृद्धि भइ १ करोड ९० लाख १७ हजार ९७५ पुगेको बताए । उनले यस बर्ष संस्थाको लगानी २३ लाख ३३ हजार ४२८ ले बृद्धि भइ २ करोड २७ लाख ७९ हजार ७६६ पुगेको बताए ।
लेखा समिति सदस्य सुरेन्द्र हाकुजु श्रेष्ठले संस्थाको ऋण तथा ब्याज असुली संस्थाको समग्र आर्थिक प्रगतिसँग गाँसिएकोले ब्याज मुल्तबिमा रहेको रकमलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
संस्थाको बार्षिक साधारण सभामा ७० जना बाल बचतकर्तालाई थर्मस सहितको मायाको चिनो प्रदान गरिएको थियो ।

