काठमाडौं । जेनजी आन्दोलन पछि यतिबेला मुलुकमा पुस्तान्तरणको बहस चर्किएको छ । यही भदौ २३ र २४ गते सामाजिक सञ्जालबन्दको विरोध, भ्रष्टाचारको अन्त्यतथा राज्य दोहन विरुद्ध युवाहरु स्वतःफूर्त रुपमा सडकमा उत्रिए ।
पहिलो दिनको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना युवाले सहादत प्राप्त गरे । राज्यबाट भएको उक्त बर्बर दमन पछि आक्रोशित भएको प्रदर्शनकारीको भीडले २४ गते राज्य नै तहसनहस पार्यो ।
अनियन्त्रित बनेको उक्त भीडले प्रमुख राजनीतिक दलका नेता कार्यकर्तादेखि तीनका पार्टी कार्यालय मात्रै ध्वस्त पारेनन् बरु आँखा अगाडि देखिने ती हरेक संरचना पनि निशानामा परे ।
आक्रोशित भिडले नेतादेखि, व्यवसायीका निजी सम्पत्तिदेखि राज्यका हरेक अंगलाई तोडफोड गरे । जुनक्षतिले राज्यलाई आर्थिक रुपले निकै पछाडी धकेलेको छ । यद्यपि, त्यो आन्दोलन कुनै सामान्य आन्दोेलन थिएन त्यो त विगत साढे तीन दशकदेखि मुलुकमा एलौटी रजाइँ गरेका दलका विरुद्धमा जनताको मनभित्रबाट निस्किएको आगोको मुस्लो थियो ।
हरेक दलका केही सीमित नेताले पार्टीलाई नियन्त्रणमा लिने र त्यसकै बलमा राज्य संयन्त्रमा आफ्नो साम्राज्य चलाउने क्रमले आजित बनेका जनता अन्तत: सडकमा आउन बाध्य भएका हुन् ।
यो आन्दोलन पछि अब पुस्तान्तरणको बहस जनतादेखि स्वयम राजनीतिकदलहरु भित्र छेडिएको छ । माओवादी केन्द्रका युवा नेता गेहेन्द्र ढकालले सम्मानसहित आफूभन्दा अग्रज नेताहरुलाई बिदा गरेर युवाहरुले नेतृत्व दिनुपर्ने बताउँछन् ।
मुलुकमा व्याप्त भ्रष्टाचार, नेताहरुको वेथितिविरुद्ध कहीनकही जनताले आवाज उठाउँदै आएका थिए । तर जनताका मागलाई व्यवास्ता गर्दै उल्टै सरकारले जनताका आवाज दबाउन सामाजिक सञ्जालमै प्रतिबन्ध लगाएपछि युवाहरु सडकमा आउन बाध्य भएको बताउँछन् राजनीतिक विश्लेषक डा.राजेन्द्र पाठक ।
बिगतमा पार्टी र दलका प्रमुख नेताविरुद्ध बोल्न हिचकिचाउने राजनीतिक दलका नेताहरु पनि अहिले खुलेरै विरोध गरिरहेका छन् । समाजमा व्यप्त असन्तुष्टिका विरुद्धमा दलहरु जानकार भएपनि समाधानको उपाय निकाल्न नसक्दा अहिले दुर्घटना निम्तिएकोबताउँछन् पुनःमाओवादी केन्द्रका युवा नेता ढकाल ।
जेनजी पुस्ताले गरेको भदौ २४ गते भएको तोडफोड र आगजनीले मुलुकलाई निकै ठूलो आर्थिक नोक्सानी भएको छ । तर, उक्ततोडफोड र आगजनी युवाहरुको खोल ओडेर तिनै राजीतिक दलहरुले आफ्ना भ्रष्टाचारका प्रमाण मेटाउन गरको राजनीतिक विश्लेषक पाठकले आरोप लगाउँछन् ।
अहिले मुलुकनिकै ठूलो संकटमा छ । यसलाई सहि दिशामा डोर्याउन सकिएन भने अझै निकै ठूलो दुर्घटना निम्तिन सक्ने आशंका गर्न थालिएको छ । त्यसैले संकटमोचनका लागि राजनीतिक दलहरुले आफूले आफूलाई रुपान्तरण र पुनःगठन गरी नयाँ तरिकाले गयौ भनेर युवाहरुलाई देखाउन नसके मुलुक यो भन्दा ठूलो संकटमा पर्ने चेतावनी माओवादी युवा नेता ढकाल दिन्छन् ।
भ्रष्टाचार र बेथिति विरुद्ध करिब २७ घण्टा चलेको आन्दोलनले मुलुकलाई तहसनहस मात्रै पारेन बरु आर्थिक हिसाबले मुलुकलाई २० वर्ष पछाडी धकेलेको छ ।
२०७२ सालको महाभूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुक तंग्रिन नपाउदै फेरि ठूलो संकटको भूमरीमा फसेको छ । यस्तो अवस्थामा मुलुकको शान्ति सुरक्षा र स्थायित्वलाई स्थापित गर्न पुराना दलरुले स्वमूल्यांकन गर्दै पुस्तान्तरण गर्नुको विकल्प छैन ।