काठमाडौ । आफूलाई विश्वको सबैभन्दा शक्तिशाली मुलुक बनाउने होडमा रहेको चीनले बुधबार विशेष सैन्य परेडको आयोजना गरेको छ । जहाँ चीनले साच्चिकै आफूलाई कतिशक्तिशालीबनाउदै लिएको छ,भन्ने प्रस्ष्ट हुन्छ ।
दोस्रो विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उक्त भव्य परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन,उत्तर कोरियाका नेता किमजोङ उनलगायत अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी थिए ।
परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । सैन्यशक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरियो ।
कार्यक्रमको अन्त्यमा ८० हजार शान्तिपारा र रङ्गिन बेलुनहरू आकाशमा छोडिएको थियो । माओत्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीचिनफिङले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा बढी दर्शकलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा सी ले विश्व अहिले ‘शान्ति वा युद्ध’को विकल्पको सामना गरिरहेको चेतावनी दिए । साथै उनले चीन अब कहिल्यै पनि कुनै पनि धम्कीबाट नडराउने र सधैँ अगाडि बढ्ने पनि दाबी गरे ।
उता चीनको सन्य परेडलाई लिएर सशंकित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तत्काल प्रतिक्रिया जनाए । उनले सी ले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किमजोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप नै लगाएका छन् ।
हुन त ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको धेरै समय भएकै छैन । तर यही अवधिमा अमेरिकाको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार मुलुकसँगको सम्बन्ध भने गम्भीर संकटको अवस्थामा पुगेको विश्लेषण विश्व जगतमा भइरहेको छ ।
रुसी तेल किन्न नरोकेको भन्दै भन्सार शुल्क ५० प्रतिशत पुर्याउने ट्रम्पको घोषणाले अमेरिका र भारतबिचको सम्बन्ध त चिसिएको छ नै, ट्रम्पको करनीतिले अन्य युरोपेली मुलुकसँगको सम्बन्ध पनि सुमधुर छैन् ।
अमेरिकासँगको सम्बन्ध बिग्रिन थालेपछि चीनसँगको सम्बन्ध सुधार्न अग्रसर बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेपछि ट्रम्प भारतसँग झन रुष्ट बनेका छन् ।
हुन त एकै भेटले भारत–चीनबिच विश्वासको वातावरण तय भएको मान्न त सकिन्न् तर ट्रम्पका गतिविधिका कारण मोदी भने बेइजिङमा हात मिलाउन बाध्य भएका छन् । जसलाई लिएर ट्रम्पले अमेरिकाविरुद्ध चीनमा षड्यन्त्र भइरहेको प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो समय ट्रम्पले भारतीयपक्षसँगको व्यापार सम्बन्धलाई लिएर पूर्ण रूपमा एकतर्फी र बर्बादीपूर्ण आरोप लगाएका छन् । जसका कारण उनले यही वर्षको अन्त्यमा भारतमा हुने भनिएको भारत, अमेरिका, अष्ट्रेलिया र जापान सम्मिलित ‘क्वाड’को शिखर सम्मेलनमा पनि सहयागी नहुने योजना बनाएका छन् ।
विश्वमै एकक्षत्र आफ्नो रवाफ जमाउन खोजेका ट्रम्पलाई तीन ठूला राष्ट्र चीन, भारत र रुस एकै ठाउँ उभिएको विषयले उकुस-मुकुस बनाइ रहेका बेला अबको उनको कदम के हुन्छ, त्यो भने सबैको चासोको विषय बनेको छ ।