काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको पाँच दिने भ्रमणमा छ । ओली चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साउन १४ गते चीन प्रस्थान गरेका हुन् । त्यहाँ उनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सोमबार सम्बोधन गरेका छन् ।
यसका साथै उनले चीनको बेइजिङमा हुने सैन्य परेडको समेत अवलोकन गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली १४ गते नै राष्ट्रपति सी सँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् । आइतबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भियतनामका समकक्षी फाम मिन चिङसँग भेटवार्ता गरेका छन् भने चीनको धान उत्पादन विशेष क्षेत्रको पनि भ्रमण गरे ।
यसका साथै उनले थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको पनि अवलोकन गरे । यसरी चीनको भ्रमणमा रहेका उनले विभिन्न क्षेत्रको अवलोकनका साथै विभिन्न देशका राष्ट्रप्रमुखहरुसँगको द्धिपक्षीय भेटवार्तालाई पनि प्राथमिकता दिएका छन् । तर, भ्रमणको पहिलो दिन नै चीनका राष्ट्रपति सीसँगको ओलीको भेटवार्ताको विषयले भने नेपालमा निकै चर्चा पायो । किनकि दुई साता अघि भारत र चीनबीच नेपालको भूमि लिपुलेकसँग जोडेर दुई देशबीच व्यापार गर्ने सम्झौता भएको थियो । जुन विषय ओलीले भ्रमणका क्रममा उठाउछन् या उठाउदैनन भन्नेबारे जनचासो थियो ।
यद्यपि सी सँगको द्धिपक्षीय भेटवार्ताका क्रममा ओलीले चीन र भारतबीच भएको लिपुलेक सम्झौताप्रति असन्तुष्टीजनाउदै लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सम्झौता पालना नगर्न चीनसँग आग्रहगरेका छन् ।
सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको र त्यसअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग भएको स्पष्ट पारेको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए ।
छिमेकी मुलुकको भ्रमणका क्रममा नेपालका नेताले आफ्नो देशको हितमा स्पष्ट धारणा राख्न हिचकिचाउने गरेको टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट धारणा राखे पछि उनको प्रशंसा भइरहेको छ । राजनीतिक विश्लेषक डा.राजेन्द्र पाठकचीन र भारतबीच भएको लिपुलेक सम्झौताप्रति असन्तुष्टी देखाएकोे बिषय सकारात्मक भएको बताउँछन् ।
नेपाल भारतबीच विद्यमान सिमा विवादका बिषयमा सीसँग कुराकानी हुनु कुटनीतिक रुपमा सकारात्मक भएको उनको भनाई छ ।
यसरी प्रधानमन्त्रीले लिपुलेकका विषयमा चीनसँग आफ्नो स्पष्ट धारणा राखेको भन्दै नेपालमा चर्चा परिचर्चा भइरहदा राजनीतिक विश्लेषक प्रा.डा.गोपीलाल न्यौपाने भने यसलाई गलत मान्छन् । उनले यो विषय चीनसँग जोडिएको विषय नै नभएको भन्दै यसका विषयमा स्पष्ट धारणा सीसँग नभइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राख्न सक्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय जगतमा प्रधानमन्त्रीले बुद्धिले लिने काम गर्न नजानेको दाबी गरे ।
विश्लेषक न्यौपानेले नेपालले अहिले छिमिकीहरुबाट बुद्धिले काम लिन सक्नुपर्ने बताए । उनले भारत र चीनबीच ट्रान्जिटको प्वाइन्ट बनेको लिपुलेकमा टू प्लस वानको पोलिसी लिएर नेपाल त्यसमा पस्नु पर्ने बताए ।
दुई देशले मिलेर गरेको सम्झौतामा नेपालको आपत्ती भएपनि त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने उनको भनाई छ ।
नेपाल र भारतबीच लिपुलेक लिम्पयाधुरालाई लिएर लामो समयदेखि सीमा विवाद छ । त्यही नेपाली भूमि लिपुलेकलाई प्रयोग गरेर भारत र चीनबीच ट्रान्जिट प्वइन्ट बनाउने सम्झौता भएपछि त्यसको चर्को आलोचना भइरहेको छ ।
तर यही विवाद र आलोचनाका बिचमै भएको प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग सीमाबारे नेपालले कुरा राखेपनि भारतका प्रधानमन्त्री मोदीसँगको साइडलाइन भेटमा भने त्यो विषय उठ्न सकेको छैन ।
यद्यपि मोदीले ओलीसँगको भेटपछि भने नेपालसँग भारतकोसम्बन्ध प्रगाढ रहेको बताएका छन् । तर सी र मोदीबीचको भेटमा नेपाली भूमि प्रयोग गरेर कैलाश मानसरोबर जाने नयाँ सम्झौता भएको छ । यसले दुई ठूला राष्ट्रले नेपालको घाउमा मल्हम लगाउनुको साटो उल्टै नुनचुक छर्किने काम गरेको विश्लेषण त भइरहेको छ नै ।
अर्काेतर्फ नेपालको भूमि फर्काउने विषयमा प्रधानमन्त्री ओलीको अबको रणनीति के होला ? त्यो चासोको विषय बनेको छ भने अब ओलीले भारतको भ्रमण गर्लान् या नगर्लान् यसतर्फ पनि सबैको ध्यान केन्द्रित भएको छ ।