काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा परेको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाहीलगायत पक्षमा अपेक्षित सुधार हुन नसकेपछि नेपाल फेरिनकारात्मक सूचीमा परेको ह । फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटीएफको दोस्रो महासभाले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको हो ।
महासभामा एफएटीएफकी अध्यक्ष एलिसा डे अन्डा मद्राजोले नेपाललाई आउँदो दुई वर्षका लागि ‘ग्रे लिस्ट’ मा राखिएको जानकारी दिइन् । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधमा लगानी रोक्न संसारभरका देशहरुले स्थापना गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका देशलाई ब्ल्याक लिस्ट र ‘ग्रे लिस्ट’ मा राख्दै आएको छ ।
यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा परेको थियो। सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट बाहिरिएको थियो। यस वर्ष नेपालसँगै लाओस पनि ‘ग्रे लिस्ट’सूचीमा परेको छ भने फिलिपिन्स दुई वर्षपछि यस्तो सूचीबाट बाहिरिएको छ ।
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरू बताउँछन्। ‘ग्रे लिष्ट’मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जाने र यसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ।
यस कारण अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जाने जानकार बताउ छन् ।
अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुन पुग्छ भने वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ। जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ ।
नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटीएफले यस्तो निर्णय लिएको हो ।