काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने मंगलबार पक्राउ परेका छन् । उनीसँगै ५ जना प्रभु बैंकका बाहलवाला कर्मचारी पनि प्रक्राउ परेका छन् । तत्कालिन सेञ्चुरी कमर्शियल बैंकमा सीईओ छँदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि लागेको छ ।
न्यौपाने वित्तिय क्षेत्रका विवादास्पद व्यक्ति हुन् । उनले विगत लामोसमयदेखि नै आर्थिक अपचलन गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित हुँदै आएका थिए । आर्थिक अपचलन गरी विभिन्न ओहदामा पुग्ने सफल भएका न्यौपाने अन्ततः सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा पक्राउ परेका हुन् ।
सहकारी गठी प्रकरणमा चौलागाईं पुर्पक्षका लागि थुनामै रहेको र उनको बयानका आधारमा न्यौपाने सहित प्रभु बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको हो । ८० करोडको धितो राखेर २ अर्ब भन्दा बढी कर्जा चौलागाईंका विभिन्न कम्पनीमा दिएको र त्यसरी दिँदा कर्जा दुरुपयोग गरेको न्यौपानेमाथि आरोप छ ।
तत्कालीन सेञ्चुरी बैंकबाट पटक–पटक गरेर पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा चौलागाईंले कर्जा लिएका थिए । उनले करिब २ अर्ब ४ करोड रुपैयाँ कर्जा लिएको र त्यो अहिले बढेर करिब ३ अर्ब रुपैयाँ पुगेको सिआईबिको भनाई छ ।
सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । न्यौपाने भन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतमका पालामा सेञ्चुरीले रविन्द्रका कम्पनीलाई ऋण दिन थालेको थियो । यो क्रम निरन्तर रुपमा न्यौपानेले पनि अगाडि बढाएका थिए ।
कमिसनको चक्करमा न्यौपानेले व्यापारीलाई सडकमा ल्याएका थिए । न्यौपाने सिइओ भएका बेला व्यवसाय गर्नका लागि कर्जा लिएको रकम बैंकले रोक्का गरिदिएपछि एकजना व्यवसायी अहिले अलपत्र परेका छन् । यसैका कारण उनी बाँच्नै नसक्ने अवस्थाा पुगेका छन् । सानु ट्रेडलिंकका सञ्चालक योगेन्द्रप्रसाद गुप्ता तत्कालिन सेञ्चुरी कमर्शियल बैंकको कारण सडकमा आएका हुन् । त्यसको मूल कारक बनेका थिए प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने ।
गुप्ताले व्यापार विस्तार गर्नका लागि ३ करोड २० लाख कर्जा लिएका थिए । जुन दिन कर्जा पास भएर उनको खातामा पैसा आयो त्यहि दिन बैंकले उनको खाता रोक्का गरिदियो । ‘मेरो खातामा पैसा आउने बित्तिकै बैंकले मेरो खाता रोक्का गरिदियो । मैले भारतीय कम्पनीलाई पैसा पठाउन खोजेँ सकिन ।’ गुप्ताले भने ।
खाता रोक्का भएको जानकारी पाउने बित्तिकै उनले ब्रान्च मेनेजर शिवानाथप्रसाद साहसँग खाता रोक्का हुनुको कारणबारे सोधे । साहले केन्द्रीय कार्यालयले खाता रोक्का गरेको जानकारी दिए ।
त्यसपछि गुप्ताले प्रदेश प्रमुख सुभाष शर्मालाई सोधे । उनले पनि केन्द्रीय कार्यालयले खाता रोक्का गरेको जानकारी दिँदै खातामा आएको पैसा डेन्युम ल्याब्रोटोरीलाई दिन सुझाव दिए । शर्माले अहिले डेन्युमलाई पैसा दिनु ७ दिनपछि रिटर्न आउछ भनेर सुझाव दिए तर, गुप्ता डेन्युमलाई पैसा दिने पक्षमा थिएनन् । बैंकका कर्मचारीले दबाव दिएपछि उनी बाध्य भएका थिए । कनेक्ट आइपिएस मार्फत पहिलो पटक हरिनन्दप्रसाद यादवको नाममा पैसा डिपोजिट गरे । उनले पहिलो ट्रान्जेक्सन लिंकरोड ब्राण्डबाट गरेका थिए । डिपोजिटकर्ताको नाममा डेन्युम ल्याब्रोटरी नै लेखे ।
पहिलो पटक पैसा पठाएको जानकारी पाउने बित्तिकै शर्माले लिंक रोडका बैंक मेनेजर अमन बोगटीलाई फोन गरेर डिपोजिट किन डेन्युमको नामले गरेको भनेर प्रश्न गरे र डिपोजिट रोकिदिन निर्देशन दिए ।
जबकी बैंक मेनेजर बोगटीसँग पास गराएर नै गुप्ताले रकम ट्रान्सफर गरेका थिए । ‘डेन्युम कालो सूचीमा परेको कम्पनी रहेछ । तर, मलाई बैंककै मान्छेले कालो सूचीमा परेको कम्पनीमा रकम डिपोजिट गर्न दवाव दिएका थिए ।’ गुप्ताले भने ।
त्यसपछि बैंक कर्मचारीकै दवावमा डिपोजिट स्लिपमा डेन्युम र हरिन्द्रको नाम काटेर अर्कै नाममा गुप्ताको डिपोजिट गरियो । ‘डेन्युमको नाममा डिपोजिट गर्न मिल्दैन भन्दै अरु कम्पनीमा डिपोजिट गर्न लगाए ।’ गुप्ताले भने ‘एकै दिन ७/८ बटासम्म खातामा पैसा हाल्न लगाए ।’
डेन्युमका बारेमा कुनै जानकारी नभएका गुप्तालाई जबरजस्ती पैसा जम्मा गर्न लगाए तर, एक रुपैया पनि फिर्ता आएन । त्यति मात्रै हैन । उनले बि.सं २०७९ असारसम्म ब्याज पनि नियमित तिरे । त्यसपछि उनको उपाय केही लागेन । काम धन्दा बन्द भयो । अहिले उनको घर जग्गा लिलाम हुने अवस्थामा छ । यस बिषयमा त्यतिबेलाका सिइओ मनोज न्यौपाने गैरजिम्मेवार बनेका थिए । यो सबै बिषयमा जानकारी हुँदापनि न्यौपाने गैरजिम्मेवार बनेर बसेका थिए । न्यौपानेले कमिसनको चक्करमा परेर आफूमाथि अन्याय गरेको पीडितको आरोप छ ।
न्यौपानेको सहकारीसँगको साँठगाँठ
२० हजार बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी रकम आफ्नो व्यक्तिगत सम्पत्तिमा परिणत गरी ठगी गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं गत १८ असोजमै पक्राउ परेका थिए । उनले बचतकर्ताको रकमबाट आफू र आफ्ना कम्पनीको नाममा जग्गा किन्ने तथा त्यो जग्गा धितो राखी यथार्थ मूल्यको तुलनामा दोब्बरभन्दा बढी ऋण लिई बैंकहरुलाई पनि जोखिममा धकेलेका थिए ।
विगत वर्षहरुमा जग्गाको धितो मूल्याङ्कनको ४० प्रतिशतमात्रै ऋण लिन पाइने व्यवस्था थियो । त्यसो हुँदा धितो मूल्याङ्कनको दोब्बरसम्म कर्जा प्रवाह गर्ने गैरकानूनी काम गर्न ऋण दिने बैंकरसँगको मिलोमतोबिना सम्भव थिएन । यसको सुत्रधार बनेका थिए त्यतिखेर सिइओ मनोज न्यौपाने । उनले कमिसन खाएरै देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाईलाई २ अर्ब भन्दा बढी ऋण प्रवाह गरेका थिए ।
चौलागाईंको विभिन्न कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा न्यौपाने लगायतका व्यक्तिहरुले प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्याङ्कनभन्दा ९७ करोड बढी हो । यो घटनामा कमसल धितोलाई बढी मूल्याङ्कन गरेर बैंकका व्यवस्थापक र कर्मचारीको मिलोमतोमा ऋण प्रवाह भएको सिआइबी अनुसन्धानबाट समेत पुष्टी भएको छ ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई धितो मूल्याङकनको दोब्बर रकम कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ तथा तत्कालीन सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने पक्राउ परेका हुन् ।
पछिल्लो समयमा सार्वजनिक भएको यो घटनाले बैंकिङ क्षेत्रको बेथिति उदाङ्गो बनाइदिएको छ । यसले बैंकका प्रभावशाली पदमा रहेका व्यक्तिले कसरी नाजायज फाइदा उठाएर कर्जा प्रवाह गर्ने गर्छन् भन्ने छताछुल्ल भएको छ । बैंक तथा वित्तीय क्षेत्र खराब कर्जासँग जुधिरहेका बेला यस्ता घटना सार्वजनिक हुनुले थप आशंका उब्जाएको छ ।
सहकारीको घोटाला छानबिन गर्दै जाँदा बाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो । अहिले सयौँ सहकारी संस्थाहरुले बचतकर्ताको निक्षेप दुरुपयोग गरेका नेपाल प्रहरी तथा संघ, प्रदेश तथा स्थानीय सरकारहरुले अनुसन्धान गरिरहेका छन् । सीआईबीको पछिल्लो पक्राउको घटनापछि सहकारी घोटालामा थप बैंकरहरु पनि तानिनसक्ने संकेत देखिएको छ ।