काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गर्न सहजीकरण गर्ने बताए । यस्तै देशभर बीमाको पहुँच पुर्याउने र कृषि बीमाको दायरा विस्तार गर्ने उनले बताए ।
यस्तै सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो बताएको हो । यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए । हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गर्ने समेत उनले बताए । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने उनको भनाइ छ ।
यस्तै सरकारले ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१को नीति तथा कार्यक्रममा चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुंगा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने उल्लेख छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटठमार्फत यस्तै घोषणा गर्दा विवाद भएको थियो। ततकालीन अवस्थामा प्रतिपक्षमा रहेको हाल सत्तारुढ गठबन्धनले नै त्यस्तो नीतिको तीव्र आलोचना गरेका थिए।
सर्वोच्च अदालतले यस्तो वस्तु निर्यात गर्ने नीति कार्यान्वयन गर्न रोक लगाएको थियो । सरकारले ढुंगा गिट्टी र बालुवाको उत्खनन्बारे कानुनी व्यवस्था गर्ने घोषाण पनि नीति तथा कार्यक्रममार्फत गरेको छ ।