मकवानपुर । बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई थप दुई वटा र आर्थिक मामिला मन्त्री बहादुर सिं लामालाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी छ ।
मुख्यमन्त्री जम्मकट्टेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा छन् ।
मन्त्री लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
यी पाँच वटा मन्त्रालयमा मन्त्री नियुक्तिमा ढिलाइ हुँदा प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माणसँगै चालु आर्थिक वर्षमा सक्नुपर्ने धेरै काममा समेत समस्या भएको कर्मचारीले बताएका छन्।
गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसले छ वटा मन्त्रालय छोड्न नमान्दा र एकीकृत समाजवादीले दुई वटा मन्त्रालय मागेपछि भागबण्डामा सहमति हुन सकेको छैन ।
कांग्रेसले पाँच वटा मात्र मन्त्रालय पाउने निश्चित भएको छ । बाग्मतीमा एघार वटा मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय सम्हालिरहेको छ।
यता भागबण्डा नमिल्दा नेकपा (एकीकृत समाजवादी) सरकार बाहिरै छ।