काठमाडौं । प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि संसदीय समिति क्रियाशील भएका छन् ।
मिनी संसद् भनिने संसदीय समितिहरुको बैठक आजदेखि सुरु भएको छ। समितिहरुको बैठक सिंहदरबारमा रहेको आ–आफ्ना कार्यालयमा बसेको हो । सबै समितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरे।
सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्नुभयो भने पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शम्शेर जबराले, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा एमालेका सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहेका छन् ।
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन् ।
दलहरुबीच समितिको भागबण्डा नमिलेका कारण यसअघि संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही प्रभावकारी हुन सकेको थिएन। सभामुख देवराज घिमिरेले आज १० वटै समितिको बैठक राख्न सुझाव दिएपछि प्रतिनिधि सभा मातहतका सबै विषयगत समितिको बैठक एकैसाथ सुरु भएको हो।