काठमाडौं । प्रतिनिधिसभाले संयुक्त समिति गठनका लागि ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समिति’ गठन गरेको छ ।
संघीय संसदमा दुई वटा संयुक्त समिति छन् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति । यी समिति संयुक्त बैठक संचालन नियमावली अनुसार सञ्चालित हुने भएकाले संशोधन गर्न लागिएको हो । नियमावली बनेपछि दुवै संयुक्त समिति गठन हुनेछन् ।
आजको बैठकमा माओवादी केन्द्रका सांसद देवराज घिमिरेले मस्यौदा समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र नेकपा एमालेका सांसद योगेश भट्टराईले नियमावली मस्यौदा समितिको सदस्यहरुको नामसम्बन्धी प्रस्तावको समर्थन गरेका थिए ।
समितिमा अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेश बर्तौला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईं, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे सदस्य रहेका छन् ।
नियमावली मस्यौदा समितिलाई ७ दिनको समय दिइएको छ । समितिको सभापति भने समितिकै बैठकले चयन गर्नेछ ।